कामिल मिशाराको कीर्तिमानी शतक, चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

कामिल मिशाराको कीर्तिमानी शतक, चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको हो।

चितवनको इनिङ्समा कामिल मिशाराले कीर्तिमानी शतक बनाए। उनले ५३ बलमा अविजित १२० रन जोडे। एनपीएल इतिहासमा यो अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर हो। यसअघि यो कीर्तिमान कर्णाली याक्सका मार्क वाटको नाममा थियो। वाटले गत सिजन लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रन बनाएका थिए।

मिशाराले ३३ बलमा अर्धशतक पूरा गरेका थिए। त्यसपछि आक्रामक ब्याटिङ गरेका उनले १४औँ ओभरमा सोनु देवकोटालाई लगातार तीन बलमा तीन छक्का प्रहार गरे। उनी एनपीएलमा शतक बनाउने पाँचौँ खेलाडीसमेत बनेका छन्। यसअघि एन्ड्रीस गोउस, मार्क वाट, आडम रोसिङ्टन र युवराज सामराले शतक बनाएका थिए।

मिशारालाई कप्तान रवि बोपाराले उत्कृष्ट साथ दिए। बोपाराले ४२ बलमा ५३ रन बनाए। यी दुईले चितवनको इनिङ्स सम्हाल्दै टोलीलाई बलियो योगफलसम्म पुर्‍याए।

चितवनले सुरुवात भने राम्रो गर्न सकेन। तेस्रो ओभरमा काठमाडौंका कप्तान करण केसीले देव खनाललाई १७ रनमा आउट गरे। त्यसपछि लगत्तै डेविड मलानलाई खाता खोल्न नदिई पभेलियन फर्काए। दुवै विकेट करणले लगातार बलमा लिएका थिए।

पावरप्लेमा दुई विकेट गुमाएको चितवनले ३४ रन बनाएको थियो। आठौँ ओभरमा विलियम बोसिस्टोले मिशाराको क्याच छाडेपछि उनले जीवनदान पाएका थिए। बलिङतर्फ काठमाडौंका करण केसी र राशिद खानले दुई–दुई विकेट लिए।