# मर्भुङकोट मन्दिर उद्घाटन गर्दै आईजीपी कार्कीले भने : ‘पुर्खाको गौरव र नयाँ पुस्ताको प्रेरणाको जीवन्त पाठशाला’

# मर्भुङकोट मन्दिर उद्घाटन गर्दै आईजीपी कार्कीले भने : ‘पुर्खाको गौरव र नयाँ पुस्ताको प्रेरणाको जीवन्त पाठशाला’

गुल्मी । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्।

गुल्मीको मालिका गाउँपालिका–८ स्थित करिब ५०० वर्ष पुरानो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मर्भुङकोट मन्दिरको आज उद्घाटन गर्दै महानिरीक्षक कार्कीले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिए।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको समग्र विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थलजस्ता आधारभूत पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उनले बताए। यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने उनको भनाइ थियो।

महानिरीक्षक कार्कीले धार्मिक आस्था र व्यवहारबीचको विरोधाभास अन्त्य गर्नुपर्ने धारणा पनि व्यक्त गरे। देवीको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय तथा शोषण गर्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै उनले महिला सम्मानलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

‘समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाहजस्ता कुप्रथाको अन्त्य गरी महिलाको सम्मान सुनिश्चित गर्न सके मात्र विजयादशमीको सन्देश सार्थक हुन्छ,’ उनले भने।

विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति, विसङ्गति र कुरीतिविरुद्ध सङ्कल्प गर्ने अवसरसमेत भएको महानिरीक्षक कार्कीले बताए।

स्थानीय जनसहभागितामा मर्भुङकोट मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले जानकारी दिए।

मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ। मन्दिर निर्माणका लागि ३२४ जना दाताबाट न्यूनतम १०० रुपैयाँदेखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग सङ्कलन गरिएको उनले बताए।

मन्दिर उद्घाटनका अवसरमा निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो।

मर्भुङकोट मन्दिर साविकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित भएको मानिन्छ। करिब पाँच शताब्दी पुरानो यस सम्पदाको पुनर्निर्माणले स्थानीय धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।