

काठमाडौं । बडादसैँको आठौँ दिन महाअष्टमी पर्व आज देशभर श्रद्धा, भक्तिभाव र उल्लासका साथ मनाइँदै छ। यस अवसरमा दुर्गा भवानीका महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपको विशेष पूजा–आराधना गरिँदै छ। देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि दर्शन र पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ।
वैदिक सनातन परम्परामा महाअष्टमीलाई विशेष महत्त्वका साथ लिइन्छ। यस दिन दुर्गा भवानीलाई थप शक्तिशाली बनाउने विश्वाससहित विशेष विधिपूर्वक पूजा–आराधना गर्ने परम्परा छ। दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरिन्छ। परम्पराअनुसार कतिपय शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने चलनसमेत रहेको छ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रमा सात्त्विक, राजस र तामस गरी तीन प्रकारका पूजाको वर्णन गरिएको छ। जल, चन्दन, अक्षतासहित षोडशोपचार विधिबाट गरिने पूजालाई सात्त्विक, पशुबलिसहितको पूजालाई राजस र मदिरासमेत चढाएर गरिने पूजालाई तामस पूजा भनिएको उनले बताए।
गौतमका अनुसार दुर्गा सप्तशतीको आठौँ अध्यायमा समेत पशुबलिसम्बन्धी चर्चा गरिएको छ। आसुरी प्रवृत्तिको नाश, देवीको आराधना र धार्मिक परम्पराको निरन्तरतासँग पशुबलिको सम्बन्ध जोडिएको उनको भनाइ छ। यद्यपि, ब्राह्मणका लागि पशुबलि वर्जित रहेको शास्त्रीय मान्यता पनि रहेको उनले उल्लेख गरे।
महाअष्टमीको रातलाई कालरात्रिका रूपमा विशेष पूजा–आराधना गर्ने परम्परा छ। यस अवसरमा छुट्टै विधि र सङ्कल्पअनुसार पूजा गरिन्छ। हनुमानढोकास्थित दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने परम्परा रहेको छ।
काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी र बगलामुखीलगायत शक्तिपीठमा विशेष पूजाआजा भइरहेको छ।
त्यसैगरी उपत्यकाबाहिर धादिङको कालिका भगवती, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती तथा ताप्लेजुङको पाथीभरालगायत शक्तिपीठमा पनि श्रद्धालु भक्तजनले विशेष पूजा–आराधना गरिरहेका छन्।
महाअष्टमीका दिन कलपुर्जा, हातहतियार तथा यातायातका साधनलाई सफा गरी देवी स्थापना गरिएको स्थानमा राखेर पूजा गर्ने परम्परा छ। यस्ता साधनलाई देवीका शस्त्रअस्त्रका रूपमा मानी पूजा गरिन्छ। साथै देवीका शस्त्रअस्त्र र चतुरङ्गिणी सेनाको आह्वान गरी आराधना गर्ने चलन पनि छ।
पशुबलि नचढाउने भक्तजनले आफ्नो कुलपरम्परा र धार्मिक मान्यताअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला तथा नरिवल चढाएर प्रतीकात्मक बलि दिने गर्छन्।
महाअष्टमीले धार्मिक आस्था, परम्परा र सांस्कृतिक निरन्तरताको सन्देश दिँदै दसैँको उल्लासलाई थप बढाएको छ। देशभरका शक्तिपीठमा भइरहेको विशेष पूजाआराधना र भक्तजनको सहभागिताले दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झल्काएको छ।