

काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य ह्वात्तै बढेको छ। गत वर्ष दसैँमा प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँसम्ममा बिक्री भएको खसीको मासुको मूल्य यस वर्ष बढेर १ हजार ७०० देखि १ हजार ८५० रुपैयाँसम्म पुगेको छ। तर, बजारमा मासुको मूल्य बढे पनि खसीबोका बिक्री गर्ने किसानले भने आफूहरूले अपेक्षाअनुसार मूल्य पाउन नसकेको गुनासो गरेका छन्।
नेपालमा सबैभन्दा बढी मासु खपत हुने पर्व दसैँका बेला खसीको माग बढ्ने गर्छ। यस वर्ष आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढीपहिरोका कारण ग्रामीण क्षेत्रबाट खसीबोका ल्याउन कठिन हुनु मूल्यवृद्धिका प्रमुख कारण रहेको व्यापारीहरूको भनाइ छ।
काभ्रेबाट खसीबोका बिक्री गर्न आएका किसान बैनसिंह मोक्तानले खसी बिक्री गर्न समस्या नभए पनि सोचेअनुसारको मूल्य पाउन नसकेको बताए।
उनका अनुसार यसपटक २५० वटा खसी बिक्रीका लागि ल्याइएकामा २१० वटा बिक्री भइसकेका छन्। बाँकी ४० वटा पनि बिक्री हुने क्रममा रहेको उनले जानकारी दिए।
मोक्तानले खसीको तौल र आकारअनुसार प्रतिकिलो ७०० देखि ९०० रुपैयाँसम्ममा बिक्री गरिरहेको बताए। साना खसी एउटा परिवारले किन्ने गरे पनि ठूला खसी दुई–तीन परिवार मिलेर खरिद गर्ने गरेको उनको अनुभव छ।
‘यो पाली २५० वटा खसी ल्याएको थिएँ। बिक्री भइरहेको छ, अब ४० वटा बाँकी छन्। दिउँसो २–३ बजेसम्म सबै बिक्री हुन्छन् होला,’ उनले भने, ‘तर पोहोरको तुलनामा यस वर्ष खसीको मासुको भाउ महँगो छ।’
बाढीका कारण नाका बन्द हुनु र पश्चिम एसियामा जारी द्वन्द्वले समेत मूल्यवृद्धिमा असर पारेको हुन सक्ने उनको अनुमान छ।
किसानले अपेक्षित मूल्य नपाएको गुनासो गरिरहँदा उपभोक्ताले भने तयारी खसीको मासु किन्न प्रतिकिलो १ हजार ७०० देखि १ हजार ८५० रुपैयाँसम्म तिर्नुपरेको छ। कतिपय उपभोक्ताका अनुसार मासुको मूल्य प्रतिकिलो २ हजार रुपैयाँसम्म पुगेको छ।
मासु उपभोक्ता अमृत तिवारीले यस वर्ष खसीको मासु महँगिएको बताए। उनका अनुसार जिउँदो खसी खरिद गर्दा प्रतिकिलो ९०० देखि १ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ भने तयारी मासुका लागि प्रतिकिलो २ हजार रुपैयाँसम्म खर्च गर्नुपरेको छ।
‘यो वर्ष खसीको मासु अलि महँगो छ। यसपटक भारतीय खसी नभित्रिएका कारण पनि मूल्य बढेको हुन सक्छ,’ उनले भने।
जिउँदो खसीको मूल्य र तयारी मासुको मूल्यबीच ठूलो अन्तर देखिँदा उपभोक्ताले मासु खरिदमा बढी खर्च गर्नुपरेको छ। अर्कोतर्फ किसानले पनि बजारमा बढेको मूल्यको अनुपातमा आफूहरूले उचित मूल्य नपाएको बताइरहेका छन्।
दसैँका दुई सातामा काठमाडौं उपत्यकामा मात्रै तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसीबोका बिक्री हुने अनुमान गरिएको छ। चाडपर्वका बेला मासुको माग उच्च हुने भएकाले खसीबोकाको कारोबार पनि बढ्ने गरेको छ।
यस वर्ष आपूर्ति व्यवस्थामा देखिएका चुनौती, ढुवानी लागत र बजार मूल्यवृद्धिका कारण किसान तथा उपभोक्ता दुवै प्रभावित भएका छन्। बजारमा मासुको मूल्य बढे पनि त्यसको लाभ किसानसम्म पर्याप्त रूपमा नपुगेको गुनासोले खसीबोका खरिद–बिक्रीको मूल्य शृङ्खलामाथि समेत प्रश्न उठाएको छ।