

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ। कम्पनीले आफ्नो ब्रान्ड प्रवर्द्धनसँगै नेपाली क्रिकेटको संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा विस्तारमा सहयोग पुर्याउने उद्देश्यले एनपीएलसँग सहकार्य गरेको जनाएको छ।
सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलको प्रायोजनलाई व्यावसायिक प्रवर्द्धनमा मात्र सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोडेर हेरिएको बताए।
उनका अनुसार नेपाल टेलिकमले यसअघि पनि नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने विभिन्न क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ। यसपटक भने क्लबस्तरमा केन्द्रित सहभागितालाई विस्तार गर्दै राष्ट्रियस्तरको व्यावसायिक क्रिकेट प्रतियोगितामा दूरसञ्चार सेवा प्रदायकका रूपमा साझेदारी गरेको उनले बताए।
‘नेपाल टेलिकमले यसअघि पनि नेपाल क्रिकेट संघ र यसले आयोजना गर्ने विभिन्न क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ। यसपटक भने राष्ट्रियस्तरमा दूरसञ्चार सेवा प्रदायकका रूपमा व्यावसायिक साझेदार बनेर एनपीएलमा सहभागी हुन लागेका छौँ,’ अधिकारीले भने।
उनले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा यसको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उन्नत बनाउन एनपीएलमार्फत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अधिकारीले नेपाल प्रिमियर लिगले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक मान्यता प्राप्त गरेको विषयलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि र कोसेढुङ्गाका रूपमा व्याख्या गरे। यस उपलब्धिका लागि उनले नेपाल क्रिकेट संघलाई बधाईसमेत दिए।
उनले एनपीएलको सफलताका लागि शुभकामना दिँदै प्रतियोगिताको प्रायोजनका लागि नेपाल टेलिकमलाई छनोट गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे।
नेपाल टेलिकमले आगामी दिनमा एनपीएल अघिल्ला दुई सिजनभन्दा अझ व्यापक, परिष्कृत र दर्शकमाझ लोकप्रिय हुने अपेक्षा गरेको छ। प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा समेत प्रभाव विस्तार गर्ने विश्वास अधिकारीले व्यक्त गरे।
एनपीएलसँगको सहकार्यले कम्पनीको व्यावसायिक प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने अवसर प्रदान गरेको उल्लेख गर्दै उनले यसबाट नेपाली क्रिकेटको विकासमा सकारात्मक योगदान पुग्ने बताए।
नेपालमा क्रिकेटप्रतिको आकर्षण बढिरहेका बेला नेपाल टेलिकमजस्तो राष्ट्रियस्तरको संस्थाको प्रायोजनले एनपीएलको व्यावसायिक विस्तार र नेपाली क्रिकेटको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।