

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। पेट दुखेपछि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेकी काफ्लेको जाँचका क्रममा एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको हो।
टिचिङ अस्पतालका वरिष्ठ पेट, कलेजो तथा पित्तथैली रोग विशेषज्ञ डा. प्रशान वीरसिंह कंसाकारको नेतृत्वमा चिकित्सकहरूको टोलीले उनको शल्यक्रिया गरेको हो।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराका अनुसार काफ्ले पेट दुख्ने समस्या लिएर उपचारका लागि अस्पताल पुगेकी थिइन्। चिकित्सकले परीक्षण गर्दा एपेन्डिसाइटिस पुष्टि भएपछि शल्यक्रिया गरिएको उनले नेपालखबरलाई जानकारी दिए।
काफ्लेको शल्यक्रिया आज बिहान करिब ४ बजे सम्पन्न भएको हो। चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ। पत्नीको उपचारका क्रममा प्रधानमन्त्री शाह स्वयं पनि अस्पताल पुगेका थिए।