एसियन पारा गेम्समा १९ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने, पलेशामाथि पदकको आशा

एसियन पारा गेम्समा १९ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने, पलेशामाथि पदकको आशा

काठमाडौं । नेपालीहरूको महान् पर्व दसैँ चलिरहँदा जापानको नागोयामा एसियन पारा गेम्स आयोजना हुँदैछ। आगामी कात्तिक १ देखि ७ गते (अक्टोबर १८ देखि २४) सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट पलेशा गोवर्धनसहित १९ खेलाडीले आठ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

एसियाली स्तरमा अपाङ्गता भएका खेलाडीहरूका लागि आयोजना हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालले तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, पावरलिफ्टिङ, पौडी, जुडो र ह्विलचेयर टेनिसमा सहभागिता जनाउन लागेको हो।

नेपालका लागि तेक्वान्दो खेलाडी पलेशा गोवर्धन प्रमुख पदक आशा हुन्। एसियन पारा गेम्समा पदक जित्ने उनी एक मात्र नेपाली खेलाडी हुन्। पलेशासँगै तेक्वान्दोमा रेनु तामाङले पनि नेपालको प्रतिनिधित्व गर्नेछिन्। टोलीको प्रशिक्षकमा कविराज नेगी लामा छन्।

एथलेटिक्समा प्रभा आङदेम्बे, सृष्टि ढेवाजु, मोहन रोका, हिमाल अर्याल र राजु गुरुङले प्रतिस्पर्धा गर्नेछन्। यस विधाको प्रशिक्षकमा विमला रानामगर छन्। ब्याडमिन्टनमा प्रकाश अधिकारीले नेपालको प्रतिनिधित्व गर्नेछन् भने प्रशिक्षकको जिम्मेवारी छविलाल शाहीले सम्हाल्नेछन्।

टेबलटेनिसमा केशव थापा, डिगमसिंह चेम्जोङ, निर्मला भण्डारी, स्वीकृति न्यौपाने र विवेक राईले प्रतिस्पर्धा गर्नेछन्। उनीहरूका प्रशिक्षक वसन्त भारती हुन्। पावरलिफ्टिङमा रजनी राई र पवन घर्तीमगरले प्रतिस्पर्धा गर्नेछन्। उनीहरूलाई क्याब्लिन महर्जनले प्रशिक्षण दिनेछन्।

त्यसैगरी, पौडीमा जेनिशा कडायत र हर्कमान घर्तीले प्रतिस्पर्धा गर्नेछन् भने प्रशिक्षकमा शुभ श्रेष्ठ छन्। जुडोमा संकल्प आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन्। उनका प्रशिक्षक योगेन्द्र विष्ट हुन्। ह्विलचेयर टेनिसमा रामबहादुर तामाङले प्रतिस्पर्धा गर्नेछन् भने प्रशिक्षकको जिम्मेवारी सूर्यभूषण बज्राचार्यले सम्हाल्नेछन्। नेपाली टोलीको ‘सेफ दी मिसन’ अर्थात् टोली प्रमुखमा केदारबाबु शिवाकोटी छन्।

पलेशाको प्रदर्शनमा विशेष नजर

नेपालले सन् २०१० मा चीनको ग्वान्झाउमा आयोजित पहिलो एसियन पारा गेम्सदेखि नै सहभागिता जनाउँदै आएको छ। प्रतियोगिताको इतिहासमा नेपालले पदक जितेको पछिल्लो उदाहरण चीनको हाङचाउमा सम्पन्न चौथो संस्करण हो।

उक्त प्रतियोगितामा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले कांस्यपदक जितेकी थिइन्। उनले सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजित पारालिम्पिक खेलकुदमा पनि कांस्यपदक जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन्।

यसपटक पलेशाले के४४ विधाअन्तर्गत महिलाको ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। उनको खेल महानवमीका दिनका लागि निर्धारित छ। त्यस्तै, तेक्वान्दो खेलाडी रेनु तामाङले महाअष्टमीका दिन प्रतिस्पर्धा गर्ने तालिका छ। उनले के४४ विधाअन्तर्गत महिलाको ४७ केजीमुनि तौल समूहमा खेल्नेछिन्।

४५ देशका करिब चार हजार खेलाडी सहभागी हुने

एसियन पारा गेम्स एसियाली क्षेत्रका अपाङ्गता भएका खेलाडीहरूको सबैभन्दा ठूलो बहुखेल प्रतियोगिता हो। यस संस्करणमा ४५ देशका करिब चार हजार खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। आठ खेलमा सहभागिता जनाउन लागेको नेपाली टोलीले यसपटक आफ्नो प्रदर्शन सुधार गर्दै पदक संख्या बढाउने लक्ष्य राखेको छ। विगतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको नाम उँचो बनाएकी पलेशासहितका खेलाडीको प्रदर्शनलाई नेपाली खेलप्रेमीले चासोका साथ हेर्नेछन्।