

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको चौतर्फी विकासका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा, आर्थिक तथा सामाजिक विकास र विपत्तिका समयमा सहकार्यका लागि राजनीतिक शक्तिबीच एकता आवश्यक रहेको बताए। उनले छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध हुन आग्रह गरे।
दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षाका लागि पार्टीका नेता तथा कार्यकर्ता जस्तोसुकै बलिदान गर्न पनि तयार हुनुपर्ने बताए।
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले सामाजिक विभेदको अन्त्य नभएसम्म समृद्ध नेपालको सपना साकार हुन नसक्ने धारणा व्यक्त गरे। उनले सामाजिक विभेद हटाएर मात्रै समतामूलक र समृद्ध समाज निर्माण गर्न सकिने सन्देश दिएका छन्।