आफूमाथि निष्पक्ष छानबिन गर्न खगेन्द्र सुनारको माग, दोषी ठहरिए सजाय भोग्न तयार

आफूमाथि निष्पक्ष छानबिन गर्न खगेन्द्र सुनारको माग, दोषी ठहरिए सजाय भोग्न तयार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्न सकिने बताउँदै कानुनबमोजिम जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आफूमाथि लागेको आरोपको जिम्मेवारी पार्टी वा सरकारले लिनु नपर्ने स्पष्ट पारेका छन्। उनले पार्टी, सरकार र राज्यका सबै निकायबाट हुने छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

‘ममाथि उठेको प्रश्नको सत्यतथ्य छानबिन होस्। आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गरियोस्,’ उनले लेखेका छन्, ‘मैले गरेको भनिएको पाप वा अपराध प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु।’

तर, आफूमाथि आरोप लागेकै विषयलाई लिएर राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय एक महिलामाथि मिडिया ट्रायल, अतिरञ्जित प्रचार तथा अनावश्यक तस्बिर, अडियो र भिडियो जोडेर टिप्पणी गरिएको भन्दै उनले आपत्ति जनाएका छन्। आफूलाई कारबाही गरिए स्वीकार्य हुने तर ती महिलामाथि भइरहेको भनिएको आक्रमण स्वीकार्य नहुने उनको भनाइ छ।

कुनै व्यक्तिले विगतमा दुःख दिएको थियो भन्ने कथित बुझाइका आधारमा महिलालाई सार्वजनिक रूपमा यसरी लखेट्नु सान्दर्भिक नभएको सुनारले तर्क गरेका छन्। आफूबाट कुनै गल्ती भएको भए सम्बन्धित निकायले गोप्य रूपमा अनुसन्धान गरी कानुनी प्रक्रियाअनुसार कारबाही गर्न सक्ने उनको भनाइ छ।

सुनारले ती महिलाले आफू अन्यायमा परेको भए आफैँ मुद्दा हाल्ने र आफ्नो जीवनबारे सचेत रहेको बताउँदाबताउँदै पनि प्रहरी प्रधान कार्यालय तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पटकपटक भेट्न बोलाएको र मुद्दा हाल्न भनेको दाबी गरेका छन्।

उनका अनुसार ती महिलाले अन्याय भएको भए आफैँ कानुनी प्रक्रियामा जाने बताएको अवस्थामा ‘तिमीहरू दुवै जनालाई एकै झट्कामा सिध्याउँछौँ’ भन्दै धम्की दिइएको थियो। त्यसको केही दिनपछि पछिल्लो घटनाक्रम अघि बढेको उनको दाबी छ।

सुनारले आफूले कुनै विषयमा प्रश्न उठाएको वा मुद्दा अघि सारेको आधारमा आफूमाथि प्रश्न गर्न नपाइने भन्ने नरहेको पनि स्पष्ट पारेका छन्। तर आरोपको छानबिन गर्ने क्रममा महिलामाथि प्रहरी, राज्य, समाज र सञ्चारमाध्यमबाट दुर्व्यवहार हुनु आपत्तिजनक रहेको उनले बताएका छन्।

आफूमाथि लागेका प्रत्येक आरोपको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै सुनारले दोषी ठहरिए कानुनी सजाय भोग्न तयार रहेको दोहोर्‍याएका छन्। उनले आफूविरुद्ध हुने कारबाही स्वीकार गर्ने तर सम्बन्धित महिलामाथि भइरहेको भनिएको सार्वजनिक आक्रमण स्वीकार्य नहुने बताएका छन्।

खगेन्द्र सुनारको भनाइ जस्ताको तस्तै

‘प्रश्न ममाथि उठेको प्रश्न हो। यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन। ममाथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधिसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्।

म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु। मैले गरेको भनिएको पाप, अपराध के हो? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु। तर राजनीतिक, सामाजिक रूपमा काम गरिरहेकी एक निर्दोष महिलामाथि जुन ढङ्गबाट मिडिया ट्रायल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियो जोडी टीकाटिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन।

आरोपमा भनिएको छ, मैले दुःख दिएँ। हिजो एक जना व्यक्तिले जिन्दगीको कुनै बिन्दुमा दुःख दिएको थियो रे भन्ने काल्पनिक बुझाइमा एक महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो? मबाट कुनै बदमासी भएको भए उहाँलाई गोप्य राखी ममाथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन लखेटियो? समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो?

प्रहरीको हेडक्वार्टर, सीआईबीले बारम्बार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको तर अन्याय भएको भए म आफैँ मुद्दा हाल्थेँ, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफपछि अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सिध्याउँछौँ भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटनाक्रम भएको हो। खैर, केही छैन।

मैले कुनै विषयमा प्रश्न गरेँ, मुद्दा उठाएँ भन्दैमा ममाथि प्रश्न गर्नै नपाइने भन्ने होइन। प्रश्न उठेको छ। समाचार आएको छ। त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले ममाथिका प्रत्येक आरोपको सत्यतथ्य छानबिन होस्। तर उहाँ महिलामाथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्तिजनक छ। जे कारबाही हो, ममाथि होस्—मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन। त्यो गलत छ।’