

काठमाडौं । बडादशैंअन्तर्गत नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गरिन्छ। नवरात्रमा देवीको आराधना गरी विधिपूर्वक पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेपछि प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादशैं पर्व मनाउँछन्।
नवरात्रको पहिलो दिन असोज २५ गते दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो।
दुर्गापक्षका रूपमा समेत चिनिने नवरात्रमा क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। शक्तिपीठमा गएर पूजा, आराधना तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र पारिवारिक सुख, शान्ति तथा ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ।
पौराणिक ग्रन्थहरूमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ। एउटा कथाअनुसार, कुनै समय शिव र पार्वती ऋषिहरूको सभामा जाँदा सबै ऋषिले उठेर उनीहरूको स्वागत गरे। तर ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन्। यसबाट पार्वती अप्रसन्न भइन् र उनले सनतकुमारलाई ऊँट बन्ने श्राप दिइन्।
श्रापका कारण सनतकुमार ऊँट बने। त्यसपछि शिवले पार्वतीलाई ज्ञानी व्यक्तिलाई श्रापले पनि असर गर्न नसक्ने र सनतकुमार ऊँटको योनिमा समेत आफ्नो ब्रह्मस्वरूप ज्ञानका कारण आनन्दित रहेको बताए। त्यसपछि शिव र पार्वती ऊँट बनेका सनतकुमारलाई भेट्न गए।
पार्वतीले ऊँटको योनिमा कस्तो अनुभव भइरहेको छ भनी सोध्दा सनतकुमारले आफूलाई कुनै कष्ट नभएको बताए। भोक लागेका बेला जङ्गलका काँडा चपाएर पनि आनन्दपूर्वक ब्रह्मचिन्तनमा मग्न रहने गरेको उनको भनाइ थियो।
सनतकुमारको उत्तरबाट प्रभावित पार्वतीले उनको वास्तविक महत्त्व नबुझी श्राप दिएकोमा पश्चात्ताप गर्दै उनलाई पुत्रका रूपमा प्राप्त गर्ने इच्छा व्यक्त गरिन्। पार्वतीको आज्ञा स्वीकार गरी सनतकुमारले उनकै पुत्रका रूपमा जन्म लिएको र त्यसपछि पार्वतीलाई स्कन्दमाता भनिएको कथन पाइन्छ।
छान्दोग्य श्रुतिअनुसार, भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनतकुमारको नाम स्कन्द रहन गएको हो। स्कन्दकी माता भएकाले पार्वतीलाई स्कन्दमाता भन्न थालिएको धार्मिक मान्यता छ। स्कन्दमाताको प्रतिमामा उनलाई सिंहासनमा विराजमान तथा दुवै हातमा कमलका फूल धारण गरेकी देवीका रूपमा चित्रण गरिएको पाइन्छ।