

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा क्यानडाले घरेलु टोली ओमानलाई ५८ रनले पराजित गरेको छ। बिहीबार अल अमिरात रंगशालामा भएको खेलमा जित निकाल्दै क्यानडाले जारी शृंखलामा पहिलो सफलता हात पारेको हो।
यसअघि क्यानडा ओमान र नेपालसँग पराजित भएको थियो। यता, ओमानले पनि लगातार दोस्रो हार बेहोरेको छ। यसअघि क्यानडालाई हराएको ओमान नेपालसँग पराजित भएको थियो।
क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा १९८ रनमै समेटियो। ओमानका हम्माद मिर्जाले सर्वाधिक ४९ रन बनाए। हसनैन उल वाहबले २९, हसनैन शाहले २७, जय ओडेदराले अविजित १८, जतिन्दर सिंह र नदिम खानले समान १३ तथा कप्तान विनायक शुक्ला र मुजिबर अलीले क्रमशः ११ र १० रन बनाए।
क्यानडाका जाहिद शिर्जाद र सहिल पटेलले तीन–तीन विकेट लिए। कलिम सानाले दुई तथा हर्ष थाकरले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ४९.४ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। क्यानडाका समित गोहेलले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ८५ बलमा पाँच चौका प्रहार गरे। आदित्य वर्दराजनले ५५, कप्तान हम्जा तारिकले अविजित ३७, ओरोन जोनसनले ३३, सहिल पटेलले २० र हर्ष थाकरले १३ रन बनाए।
ओमानका हसनैन शाहले तीन विकेट लिए। जय ओडेदरा र मुजिबर अलीले दुई–दुई तथा सकिल अहमद, नदिम खान र करण सोनावालेले एक–एक विकेट हात पारे।
यस जितसँगै क्यानडाले अंकतालिकामा नेपालको दबाब बढाएको छ। नेपालसँगको अंकदूरी घटाएर एकमा झारेको क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौँ स्थानमा छ। एक खेल कम खेलेको नेपाल २८ अंकसहित छैटौँ स्थानमा छ। पराजित ओमान भने ३१ खेलबाट ३३ अंकसहित चौथो स्थानमा कायम छ।
अब क्यानडाले शनिबार नेपालसँग खेल्नेछ भने ओमानले सोमबार नेपालकै सामना गर्नेछ।