क्यान्सरपीडितलाई सहयोग जुटाउन र जलवायु सचेतना फैलाउन नेपालगन्ज म्याराथन दौडिँदै मिस नेपाल दीपमाला

क्यान्सरपीडितलाई सहयोग जुटाउन र जलवायु सचेतना फैलाउन नेपालगन्ज म्याराथन दौडिँदै मिस नेपाल दीपमाला

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल क्यान्सरपीडितलाई सहयोग जुटाउन र जलवायु परिवर्तनबारे सचेतना फैलाउन नेपालगन्ज म्याराथनमा सहभागी हुने भएकी छन्।

धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करणमा भाग लिन उनी आगामी मंसिर १२ गते नेपालगन्ज पुग्ने आयोजकले जनाएको छ। तेक्वान्दोकी ब्ल्याक बेल्टसमेत रहेकी दीपमाला आफैँ पनि म्याराथन धाविका हुन्। उनले विश्वप्रसिद्ध स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथनमा समेत दौडिसकेकी छन्। नेपालगन्ज म्याराथनमा उनले कति दूरी दौडिने भन्ने विषयमा भने चाँडै जानकारी गराइने आयोजकले जनाएको छ।

नेपालमा आयोजना हुने कुनै पनि म्याराथनमा मिस नेपाल स्वयं धावकका रूपमा सहभागी हुन लागेको यो सम्भवतः पहिलोपटक हो। यसअघि विद्यार्थी, युवा तथा समाजलाई प्रेरित गर्ने उद्देश्यले मिस नेपाललाई हरेक वर्ष नेपालगन्ज म्याराथनमा आमन्त्रण गरिँदै आएको थियो। गत वर्ष मिस नेपाल वर्ल्ड २०२५ लुना लुँइटेल र मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधानले अनौपचारिक रूपमा पाँच किलोमिटर दौड पूरा गरेका थिए।

स्वस्थ समाज निर्माणका लागि सचेतना फैलाउने अभियानअन्तर्गत नेपालगन्ज म्याराथन र द हिडन ट्रेजरबीच भएको समझदारीअनुसार मिस नेपाल वर्ल्ड नेपालगन्ज म्याराथनको सद्भावना दूत रहने व्यवस्था छ। यसपटक भने दीपमाला परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यसहित आफैँ दौडिन लागेकी हुन्।

विश्वका प्रतिष्ठित म्याराथनमा परोपकारी उद्देश्यका लागि दौडिने अभ्यास प्रचलित छ। विभिन्न गैरसरकारी संस्था तथा कर्पोरेट क्षेत्रले च्यारिटी रनमार्फत रकम संकलन गरी धावकलाई सहयोग गर्नुका साथै सम्बन्धित क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन्।

नेपालगन्ज म्याराथनको १२औँ संस्करणमा बीपी चोकबाट सुरु हुने दौडमा १२ विधा समावेश गरिएको छ। प्रतियोगितामा ४२.१९५ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला खुला हाफ म्याराथन, १० किलोमिटर पुरुष तथा महिला खुला दौड, पाँच किलोमिटर पुरुष तथा महिला खुला दौड, पाँच किलोमिटर विद्यालयस्तरीय छात्र तथा छात्रा दौड, तीन किलोमिटर कर्पोरेट रन, तीन किलोमिटर किड्स रन, तीन किलोमिटर ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल समावेश छन्।

म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार पुरुष खुला म्याराथनमा महिलाले व्यक्तिगत समयका लागि दौडिन चाहेमा विद्युतीय चिप उपलब्ध गराइनेछ। त्यस्तै, २१ किलोमिटर महिला हाफ म्याराथनमा पुरुष धावकले आफ्नो समय सुधार गर्ने उद्देश्यले दौडिन चाहेमा पनि विद्युतीय चिपको व्यवस्था गरिएको छ।

म्याराथनतर्फ ४० देखि ५०, ५० देखि ६० र ६० देखि ७० वर्ष उमेर समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई छुट्टै सम्मान गरिने गुरुङले बताए। एबट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गरिनेछ। साथै, उमेर समूहको विश्व च्याम्पियनसिपमा सहभागी हुन चाहने धावकलाई आवश्यक सहजीकरणसमेत गरिने आयोजकले जनाएको छ।

विभिन्न विधाका उत्कृष्ट धावकलाई मेजर म्याराथन तथा वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेबल रेसमा सहभागी हुने अवसर प्रदान गर्ने योजना पनि आयोजकले अघि सारेको छ। म्याराथनका लागि अनलाइन दर्ता खुला भइसकेको दर्ता संयोजक गगन थापाले जानकारी दिए। इच्छुक धावकले नेपालगन्ज म्याराथनको वेबसाइटमार्फत नाम दर्ता गर्न सक्नेछन्।

गत जुनमा नर्वेको ट्रोम्सोमा नेपालगन्ज म्याराथनले विश्वभरका दौड प्रतियोगितामध्ये एम्स सोसल अवार्ड प्राप्त गरेको थियो।

सन् २०१५ देखि निरन्तर आयोजना हुँदै आएको नेपालगन्ज म्याराथनले शान्ति, सद्भाव र एकताको सन्देश प्रवाह गर्दै आएको छ। २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा २०७२ सालदेखि सुरु गरिएको यस म्याराथनले विभिन्न जाति, धर्म र समुदायको बसोबास रहेको नेपालगन्जलाई खेलकुदमार्फत जोड्ने लक्ष्य राखेको छ।

कोभिड–१९ महामारीका समयमा समेत नेपाल सरकारका स्वास्थ्य मापदण्ड पालना गर्दै आयोजना गरिएको नेपालगन्ज म्याराथनले टोकियो ओलम्पिकका लागि खेलाडी छनोटमा भूमिका खेलेको थियो। अहिले यससँग सम्बन्धित करिब एक दर्जन भगिनी कार्यक्रम सञ्चालनमा छन्।

विद्यालयका बालबालिकालाई जलवायु परिवर्तनका असरबारे सचेत गराउँदै त्यससँग अनुकूलन हुन प्रेरित गर्ने उद्देश्यले गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएका छन्। रातिको समयमा पनि सुरक्षित रूपमा दौडिने वातावरण बनाउने उद्देश्यले नेपालगन्ज १० के नाइट रनका दुई संस्करण सम्पन्न भइसकेका छन्।

नेपाली सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले गत वर्षदेखि काठमाडौं २५ किलोमिटर हेरिटेज रेस पनि सुरु गरिएको छ। त्यस्तै, कर्णाली प्रदेशमा कर्णाली हाफ म्याराथन आयोजना हुँदै आएको छ।

लोकतन्त्रमा संवाद र बहसको महत्त्वलाई आत्मसात् गर्दै नेपालगन्ज म्याराथनले नेपालगन्ज डिस्कोर्सअन्तर्गत नेपालगन्ज कन्क्लेभका छ संस्करण आयोजना गरिसकेको छ। यस वर्षको कन्क्लेभमा दीपमाला युवा र खेलकुद विषयमा वक्ताका रूपमा समेत सहभागी हुने भएकी छन्।