

काठमाडौं । घर निर्माणमा हुने लागत वृद्धि, प्राविधिक त्रुटि, डिजाइन परिवर्तन र ढिलाइ न्यूनीकरण गर्ने उद्देश्यले शिलाक्ष्य गृह निर्माण प्रा.लि. र फोरफ्रन्ट इन्जिनियरिङ प्रा.लि.बीच सहकार्य भएको छ। आधुनिक डिजिटल प्रविधिको प्रयोगमार्फत घर निर्माणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित दुई कम्पनीबीच समझदारी भएको हो।
समझदारीपत्रमा शिलाक्ष्य गृह निर्माणका आशित अधिकारी र सायन प्याकुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका महेश कार्की र सुधीर थापाले एक कार्यक्रमबीच आदानप्रदान गरेका थिए।
समझदारीअनुसार भवन सूचना मोडलिङ (बीआईएम), भर्चुअल रियालिटी (भीआर), डिजिटल ट्विन र लाइडार (LiDAR) स्क्यानिङजस्ता आधुनिक प्रविधि निर्माण परियोजनामा प्रयोग गरिनेछ। यी प्रविधिको प्रयोगबाट ग्राहकले घर निर्माण सुरु हुनुअघि नै आफ्नो घरको डिजिटल स्वरूप हेर्न, डिजाइनमा आवश्यक सुधार गर्न र सम्भावित प्राविधिक समस्या पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ।
बीआईएम प्रविधिले भवनको डिजाइन, संरचना, विद्युतीय प्रणाली तथा खानेपानी र ढल निकाससम्बन्धी प्रणालीबीचको समन्वय जाँच गर्न सहयोग गर्छ। यसबाट निर्माणका क्रममा देखिन सक्ने प्राविधिक समस्या समयमै पहिचान गरी पुनः काम गर्नुपर्ने अवस्था, सामग्रीको अनावश्यक खपत र अतिरिक्त खर्चको जोखिम कम गर्न सकिन्छ।
त्यस्तै, भर्चुअल रियालिटीमार्फत ग्राहकले निर्माण हुन लागेको घरको बनावट र आन्तरिक संरचना वास्तविक अनुभवसरह हेर्न सक्नेछन्। लाइडार स्क्यानिङले निर्माणस्थलको वास्तविक अवस्थालाई डिजिटल रूपमा अभिलेख गर्न सहयोग पुर्याउँछ भने डिजिटल ट्विनले भौतिक संरचनाको डिजिटल प्रतिरूप तयार गरी त्यसको व्यवस्थापन तथा अनुगमनमा सहयोग गर्न सक्छ।
फोरफ्रन्ट इन्जिनियरिङका प्रबन्ध निर्देशक महेश कार्कीले नेपालमा अझै पनि अधिकांश निर्माण परियोजना परम्परागत दुई आयामका नक्सामा आधारित रहेको उल्लेख गर्दै निर्माण क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
“यदि नेपालले वास्तवमै डिजिटल निर्माणको युगमा प्रवेश गर्ने हो भने अब डिजिटल पूर्वाधार संरचना तथा सूचना प्रणाली (BIM) अपनाउन ढिला गर्नु हुँदैन। परियोजनाको योजना र डिजाइनदेखि निर्माण तथा सञ्चालनसम्म डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै निर्माण क्षेत्रलाई अझ व्यवस्थित, प्रभावकारी, पारदर्शी र दिगो बनाउने समय आइसकेको छ,” उनले भने।
शिलाक्ष्य गृह निर्माणका सह-संस्थापक आशित अधिकारीले फोरफ्रन्टसँगको सहकार्यले आधुनिक निर्माण प्रविधिलाई वास्तविक परियोजनामा प्रयोग गर्न सहयोग पुग्ने बताए। निर्माण क्षेत्रलाई परम्परागत कार्यशैलीबाट आधुनिक र प्रविधिमैत्री दिशातर्फ लैजानुपर्नेमा जोड दिँदै उनले सहकार्यले निर्माणको गुणस्तर र कार्यक्षमता अभिवृद्धि गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
“हामी सधैँ गुणस्तर, पारदर्शिता र उच्च कार्यक्षमतालाई प्राथमिकता दिँदै आएका छौँ। यो सहकार्यले BIM, भर्चुअल रियालिटी र LiDAR स्क्यानिङजस्ता अत्याधुनिक प्रविधिलाई हाम्रा वास्तविक निर्माण परियोजनाहरूमा जोड्न ठूलो सहयोग पुर्याउनेछ,” उनले भने।
अधिकारीका अनुसार यो पहल भवन निर्माणमा मात्र सीमित नरही नेपालको समग्र निर्माण क्षेत्रलाई व्यवस्थित, दिगो र प्रविधिमा आधारित बनाउनसमेत सहयोगी बन्न सक्छ।
शिलाक्ष्य गृह निर्माण प्रा.लि. निर्माणसम्बन्धी समाधान तथा भौतिक संरचना विकासमा केन्द्रित कम्पनी हो भने फोरफ्रन्ट इन्जिनियरिङ प्रा.लि.ले बीआईएम, डिजिटल इन्जिनियरिङ र प्रविधिमा आधारित निर्माण समाधानका क्षेत्रमा काम गर्दै आएको छ।
शिलाक्ष्यको निर्माणसम्बन्धी अनुभव र फोरफ्रन्टको डिजिटल इन्जिनियरिङ विशेषज्ञतालाई एकीकृत गर्दै निर्माणको गुणस्तर, कार्यदक्षता र स्रोतको प्रभावकारी उपयोग बढाउने लक्ष्य राखिएको छ।
दुई कम्पनीबीचको यो सहकार्यले घर निर्माणअघि नै डिजाइन र प्राविधिक समस्या पहिचान गर्न, सम्भावित खर्च नियन्त्रण गर्न तथा निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, लागत र समय घटाउने उपलब्धि भने सम्बन्धित परियोजनामा प्रविधिको प्रयोग, कार्यान्वयनको गुणस्तर र व्यवस्थापनको प्रभावकारितामा निर्भर हुनेछ।