च्याम्पियन्स लिगमा आर्सनलको लगातार जित, लिल ३-० ले पराजित

च्याम्पियन्स लिगमा आर्सनलको लगातार जित, लिल ३-० ले पराजित

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगमा आर्सनलले आफ्नो शतप्रतिशत जितको यात्रा कायम राख्दै फ्रान्सेली क्लब लिललाई ३-० गोलले पराजित गरेको छ। मंगलबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दोस्रो हाफमा सात मिनेटको अन्तरालमा तीन गोल गर्दै शानदार जित निकालेको हो।

आर्सनलका लागि जुरियन टिम्बर, एबेरेची एजे र बुकायो साकाले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा टिम्बरले ६०औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

त्यसपछि एजेले साकाको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। साकाले काई हाभर्ट्जको पासमा तेस्रो गोल थपेपछि आर्सनलको जित सुनिश्चित भएको थियो।

यसअघि लिड्सलाई २-१ गोलले पराजित गरेको टोलीमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले पाँच खेलाडी परिवर्तन गरेका थिए। पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसके पनि दोस्रो हाफमा आर्सनलले आक्रामक खेल प्रदर्शन गर्दै सहज जित निकालेको हो।

यस जितसँगै आर्सनल च्याम्पियन्स लिगको अंकतालिकामा बार्सिलोना र स्पोर्टिङ लिस्बनसँगै शीर्ष स्थानको प्रतिस्पर्धामा रहेको छ। खेलको अन्तिम समयमा लिलका लागि ओलिभियर जिरुड मैदान प्रवेश गर्दा घरेलु समर्थकले उनको स्वागत गरेका थिए। आर्सनलका पूर्वखेलाडी जिरुडले क्लबमा छ वर्ष बिताउँदा १०५ गोल गरेका थिए।

पहिलो खेलमा रियल बेटिससँग पराजित भएको लिलले आर्सनलसँगको हारपछि पनि च्याम्पियन्स लिगमा अंक जोड्न सकेको छैन।