लिग-२ मा नेपालको आज ओमानसँग भिडन्त, ओडीआई मान्यता जोगाउने लक्ष्य

लिग-२ मा नेपालको आज ओमानसँग भिडन्त, ओडीआई मान्यता जोगाउने लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ।

अल अमेरतस्थित ग्राउन्ड मिनिस्ट्री टर्फ-१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपालले आइतबार भएको आफ्नो पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो। उक्त खेलमा नेपाली टोलीका ब्याटर रोहित पौडेलले शतक प्रहार गरेका थिए। त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई हराएको थियो।

ओमानको जितसँगै लिग-२ को शीर्ष चारमा रहँदै सिधै विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना समाप्त भएको छ। त्यसैले अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य लक्ष्य बनेको छ।

लिग-२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। ३४ खेलबाट २५ अंक जोडेको क्यानडा सातौं स्थानमा झरेको छ। ओमान भने २९ खेलबाट ३३ अंकसहित तालिकाको माथिल्लो स्थानमा छ।

शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएपछि नेपालले अब एकदिवसीय विश्वकप छनोटको यात्रा तय गर्न प्लेअफ खेल्नुपर्नेछ। उक्त प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन्।

लिग-२ मा नेपालले अब पाँचौं वा छैटौं स्थानमध्ये एकमा रहेर प्रतियोगिता टुङ्ग्याउन सक्नेछ। ओडीआई मान्यता जोगाउने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्पष्ट व्यवस्था सार्वजनिक भइसकेको छैन। यद्यपि, छैटौं स्थानसम्म रहँदा नेपालका लागि सुरक्षित अवस्था बन्न सक्ने आकलन गरिएको छ।

त्यसैले आज ओमानसँग हुने खेल नेपालका लागि अंकतालिकामा सुधार गर्ने र बाँकी खेलमा मनोबल उच्च राख्ने महत्वपूर्ण अवसर हुनेछ।