दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु उपत्यकाबाहिर

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु उपत्यकाबाहिर

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका मानिसहरू दसैँ मनाउन धमाधम गाउँ फर्किन थालेका हुन्।

उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। परिवार र आफन्तसँग भेटघाट गरी दसैँ मनाउन घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सडक तथा बसपार्कमा समेत चाप देखिन थालेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा काठमाडौँका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु उपत्यकाबाहिरिएका छन्।

उक्त अवधिमा सबैभन्दा बढी नागढुङ्गा नाकाबाट २७ हजार ६४९ यात्रु बाहिरिएका छन्। त्यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५, फर्पिङ नाकाबाट पाँच हजार ५१०, तीनपिप्ले नाकाबाट ९७२, भट्टेडाँडा नाकाबाट ८८६, साँखु नाकाबाट ६०८, भीमढुङ्गा नाकाबाट ५१३ र थानकोट नाकाबाट ५६ यात्रु बाहिरिएका छन्।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई सवारीसाधन व्यवस्थापन गर्न कठिनाइ भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए।

उनका अनुसार दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन कठिनाइ भएको छ। यसले गर्दा सवारीसाधनको व्यवस्थापनमा थप चुनौती उत्पन्न भएको छ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए। त्यसले पनि यात्रु व्यवस्थापनमा समस्या थपेको महासचिव गौतमले बताए।

महासङ्घले यात्रुलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादरभन्दा बढी नतिर्न तथा यात्रामा निस्कनुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

दसैँ परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रमुख चाड भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू हरेक वर्ष चाडपर्व मनाउन आफ्नो गाउँघर फर्किने गर्छन्। यस वर्ष पनि दसैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्दै गएको छ।