सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रास्वपाको रोक

सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रास्वपाको रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन सुरु गर्दै छानबिन निष्कर्षमा नपुगेसम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चारमाध्यममार्फत सार्वजनिक भएका आरोपप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता विषयमा छानबिन अघि बढाइएको पार्टीले जनाएको छ।

रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट पारेको छ।

‘घटनाको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न छानबिन पूरा नहुँदासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको रास्वपाले जनाएको छ।

पार्टीले राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले आन्तरिक तथा सरकारी अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानबमोजिम थप कदम चालिने जनाएको छ। कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिइने पार्टीको भनाइ छ।