बडादसैँको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजाआराधना गरिँदै

बडादसैँको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजाआराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत आज तेस्रो दिन नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टाको पूजाआराधना गरिँदै छ। यस अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा श्रद्धालु भक्तजनले देवीको पूजा, आराधना गरिरहेका छन्।

धार्मिक मान्यताअनुसार माता चन्द्रघण्टाको श्रद्धापूर्वक पूजा गर्नाले दुःख, कष्ट र सङ्कटबाट मुक्ति मिल्नुका साथै जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ। देवीको आराधनाले आत्मबल, साहस र निर्भयता बढ्ने तथा भय र नकारात्मक ऊर्जा हट्ने विश्वास पनि रहिआएको छ।

दसैँको तेस्रो दिन भक्तजनले दुर्गा सप्तशतीको तेस्रो अध्याय पाठ गर्ने, भजनकीर्तन गाउने तथा आरती गरेर माता चन्द्रघण्टाप्रति श्रद्धा प्रकट गर्ने परम्परा छ।

बडादसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिन थालेको छ। देवीको दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनका कारण शक्तिपीठहरूमा चहलपहल बढेको छ।

नवदुर्गाको आराधना गरिने बडादसैँमा प्रत्येक दिन देवीका फरक–फरक स्वरूपको पूजा गर्ने धार्मिक परम्परा छ। भक्तजनले नौ दिनसम्म श्रद्धा र भक्तिपूर्वक देवीको पूजा गरी दसैँ पर्व मनाउने गर्छन्।