

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार छैटौँ कारोबार दिन पनि वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २ हजार ६२५.८२ विन्दुमा पुगेको हो। परिसूचकमा सामान्य वृद्धि हुँदा शेयर कारोबार रकमसमेत बढेको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३४ अंकले वृद्धि भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा बिहीबार ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन ३४९ वटा स्टकको ३८ हजार ८६१ पटकको कारोबारमा १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।
बिहीबार बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य सकारात्मक सर्किट तहमा पुगेको छ। दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको कम्पनीको शेयरमूल्य ४० रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता ३१३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको हो।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य र लक्ष्मी उन्नति कोषको इकाईमूल्य करिब ६.५ प्रतिशतले बढेको छ। अर्कोतर्फ, मूल्य घटेका स्टकमध्ये कुनैको पनि गिरावट ३ प्रतिशत पुगेको छैन।
कारोबार रकमका आधारमा बिहीबार कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये नौवटाको परिसूचक बढेको छ भने चारवटाको घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले बढेको छ। यस दिन बैंकिङ, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।
लगातार छैटौँ कारोबार दिनसम्म कायम रहेको नेप्सेको वृद्धिसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। यद्यपि, अधिकांश उपसमूहमा वृद्धि भए पनि बजारमा सबै क्षेत्रको प्रदर्शन समान भने देखिएको छैन।