

काठमाडौं । बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो।
अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ-१ मा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो।
ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ओमान १२औँ ओभरमा ४१ रन बनाउँदा ६ विकेट गुमाएर निकै कमजोर अवस्थामा पुगेको थियो। त्यसपछि विनायकले जय ओडेरासँग मिलेर ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे। ओडेरा २५ रन बनाएर आउट भए।
नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चिए भने सन्दीपले ९ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए भने करण केसी र ललित राजवंशीले एक-एक विकेट हात पारे।
रोहितको अर्धशतक, करणको विस्फोटक ब्याटिङ
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे। करण केसीले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै केवल १६ बलमा ४० रन जोडे।
करणले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरेका थिए। अन्तिम ओभरमा शाह फैसलको बलमा पनि उनले छक्का प्रहार गर्दै नेपालको योगफल उकासे। त्यस्तै, अर्जुन कुमालले ४० रन बनाए भने बसिर अहमद र इशान पाण्डेले समान ३७-३७ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २२ रन जोडे। ओमानका लागि शाह फैसल, शकिल अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिए। हस्नेन शाहले एक विकेट हात पारे।
अंकतालिकामा नेपालको २८ अंक
ओमानमाथिको जितपछि लिग-२ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ। ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ। लिग–२ को शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्य महत्त्वपूर्ण बनेको छ। नेपालले शृङ्खलाको आफ्नो अर्को खेल आगामी शनिबार क्यानडासँग खेल्नेछ।