

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । बाढीले घर, किराना पसल, गोठ तथा पानीघट्ट बगाएको हो । वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एक घर, दुई किराना पसल, एक गोठ र १० वटा पानीघट्ट बगाएको छ । बाढीबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन ।
राति करिब साढे ८ बजे परेको भारी वर्षापछि अर्माखोलामा बाढी आएको थियो । बाढीको जोखिम बढेपछि उज्वन खड्काको परिवार घर छाडेर सुरक्षित स्थानमा गएर बसेको थियो । त्यसपछि आएको बाढीले उनको घर पूर्णरूपमा बगाएको वडाध्यक्ष खड्काले बताए ।
उनका अनुसार बाढीले घरसँगै एक तोला सुनका गरगहना, १० हजार रुपैयाँ नगद, भाँडावर्तन, अन्नपात, एक भैंसी र १० वटा भेडाबाख्रा समेत बगाएको छ ।
बाढीले स्थानीय खड्कबहादुर खड्का र बमबहादुर विकका किराना पसल तथा गंगाराम खड्काको गोठ पनि बगाएको छ । गोठमा रहेका तीनवटा भैंसी र पञ्चराम डाँगीका दुईवटा गोरुसमेत बाढीले बगाएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेद पौडेलले रातिको भारी वर्षापछि ठाडोखोलामा आएको बाढीबाट क्षति भएको जानकारी प्राप्त भएको बताए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै बिहान प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ । घटनास्थल टाढा रहेकाले प्रहरी टोली पुगेपछि क्षतिको थप विवरण आउने उनले बताए ।