कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा, ‘पार्टीलाई एकताबद्ध बनाउँछु’

कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा, ‘पार्टीलाई एकताबद्ध बनाउँछु’

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले पार्टीभित्र बढ्दै गएको विभाजन अन्त्य गरी कांग्रेसलाई एकताबद्ध र मर्यादित बनाउन आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताए ।

कांग्रेसभित्रको आन्तरिक विभाजनले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा समेत प्रभाव पार्न सक्ने उनको भनाइ छ । पार्टीका नेता तथा कार्यकर्तालाई न्याय दिलाउने आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै राठौरले देशभरका कांग्रेस कार्यकर्तालाई समान व्यवहार र अवसर सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।

उनले पार्टीभित्र बढेको अराजकता अन्त्य गरी कांग्रेसलाई अनुशासित, मर्यादित र एकताबद्ध राजनीतिक शक्तिका रूपमा अघि बढाउने दाबी गरे । राठौरले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले स्थापित गरेको कांग्रेसको राजनीतिक संस्कार र मर्यादालाई पुनःस्थापित गर्ने उद्देश्यले आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए ।