दसैं–तिहार लक्षित काठमाडौं प्रहरीको विशेष सुरक्षा योजना, ३ हजार ५०६ प्रहरी परिचालन हुने

दसैं–तिहार लक्षित काठमाडौं प्रहरीको विशेष सुरक्षा योजना, ३ हजार ५०६ प्रहरी परिचालन हुने

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना २०८३ लागू गरेको छ। परिसरको कार्यालय भद्रकालीमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले विशेष सुरक्षा योजना आजैदेखि लागू भएको जानकारी दिए। उनका अनुसार सुरक्षा योजना ३० कात्तिकसम्म अर्थात् करिब डेढ महिना सञ्चालन हुनेछ।

चाडपर्वका समयमा पटका तथा आतसबाजी, आगलागी, मदिरा सेवनपछि हुने सवारी दुर्घटना, नक्कली टिकटको कारोबार, यात्रु ठगी, चोरी, पाकेटमारी, जुवातास तथा लंगुरबुर्जा खेललगायतका गतिविधि हुनसक्ने जोखिमलाई ध्यानमा राखेर सुरक्षा योजना लागू गरिएको हो।

त्यस्तै पेय पदार्थमा नसालु पदार्थ मिसाउने, नक्कली नोटको कारोबार तथा हत्या लगायतका आपराधिक घटना हुनसक्ने जोखिमसमेत प्रहरीले औंल्याएको छ। यस्ता गतिविधि रोकथाम तथा न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाले बताए।

३ हजार ५०६ प्रहरी परिचालन

चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि रोकथामका लागि काठमाडौं परिसरले ३ हजार ५०६ प्रहरी परिचालन गर्ने भएको छ। सादा पोशाक र पोशाकधारी प्रहरी गरी उक्त जनशक्ति परिचालन गरिनेछ। त्यसमध्ये तालुक कार्यालयबाट थप १९० प्रहरी परिचालन हुने बताइएको छ। धार्मिक स्थल तथा मठमन्दिर, न्युरोड, असनजस्ता व्यापारिक तथा भीडभाड हुने क्षेत्र, यातायातका टिकट काउन्टर, बजार क्षेत्र तथा बैंक तथा वित्तीय संस्थाका क्षेत्रमा बढी प्रहरी परिचालन गरिनेछ।

ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन गरिने भएको छ। विभिन्न नाकामा तालिमप्राप्त कुकुर परिचालन गरी सुँघेर जाँच गर्ने व्यवस्था मिलाइनेछ। विशेषगरी विस्फोटक पदार्थ पहिचानमा कुकुरको प्रयोग गरिनेछ। त्यस्तै ड्रोनमार्फत पनि निगरानी गरिनेछ। त्यसका लागि काठमाडौं परिसरमा तीनवटा ड्रोन आइसकेको प्रहरीले जनाएको छ।

‘ड्रोनदेखि कुकुरसम्म परिचालन गरेर काठमाडौं सुरक्षित बनाउने हाम्रो प्रयास हुनेछ,’ पत्रकार सम्मेलनमा एसएसपी घिमिरेले भने। यसैगरी काठमाडौंका विभिन्न १ हजार २४२ स्थानमा जडान गरिएका सीसीटीभी क्यामेराबाट निगरानी गरिनेछ। सामाजिक सञ्जालको समेत निगरानी गरिने प्रहरीले जनाएको छ।

सुरक्षासम्बन्धी अत्यावश्यक सूचना प्रवाह गर्न काठमाडौंका १० स्थानमा सार्वजनिक उद्घोषणा प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) राखिनेछ।

पीपीआई मोडलमा सुरक्षा योजना

चाडपर्व लक्षित विशेष सुरक्षा योजनामा काठमाडौं प्रहरीले पीपीआई मोडल लागू गरेको छ। यसमा प्रोमोशनल, प्रिभेन्टिभ, इन्फोर्समेन्ट र इन्नोभेसनलाई समेटिएको छ। प्रोमोशनल अन्तर्गत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा समुदायमार्फत सुरक्षा सन्देश प्रवाह गरी नागरिकमा सचेतना अभिवृद्धि गरिने प्रहरीले जनाएको छ।

प्रिभेन्टिभ अन्तर्गत सम्भावित अपराध तथा जोखिम पहिचान गरी अग्रिम तयारी गर्ने, गस्ती, निगरानी र चेकजाँच बढाउने तथा संवेदनशील स्थानमा प्रहरीको उपस्थिति सुदृढ बनाइ अपराध हुन नदिन आवश्यक उपाय अवलम्बन गरिनेछ।

इन्फोर्समेन्ट अन्तर्गत कानुनविपरीत क्रियाकलापमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिनेछ। इन्नोभेसन अन्तर्गत प्रविधिको अधिकतम प्रयोग गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने प्रहरीले जनाएको छ।

मोबाइल गस्ती, क्युआरटीदेखि कर्डन सर्चसम्म

काठमाडौं प्रहरीले मोबाइल गस्ती, स्ट्राइकिङ तथा चेकिङलाई समेत तीव्र बनाउने भएको छ। ९८ स्थानमा एरिया कभर गरिनेछ भने १६६ वटा मोबाइल गस्ती परिचालन हुनेछन्। त्यस्तै ५०८ स्थानमा पिकेट राखिने र २१० वटा पैदल गस्ती टोली परिचालन गरिनेछ।

मोटरसाइकलसहितका १५२ वटा क्युआरटी (क्विक रेस्पोन्स टिम) तथा गाडीसहितका १४० वटा क्युआरटी परिचालन हुनेछन्। १४० स्थानमा कर्डन सर्च गरिनेछ।

यसैगरी ७० वटा सादा पोशाकका टोली परिचालन हुने, १३३ स्थानमा चेकप्वाइन्ट राखिने तथा ८० वटा मन्दिरमा विशेष सुरक्षा व्यवस्था गरिने प्रहरीले जनाएको छ। १४८ वटा टिकट काउन्टरमा समेत विशेष निगरानी गरिनेछ। स्ट्राइकिङ, रिभर्स, सीआरभी, पैदल गस्ती तथा ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङमार्फत सुरक्षा व्यवस्था मिलाइनेछ।

१२ स्थानमा नागरिक सहायता कक्ष

परिसर काठमाडौंले यात्रु तथा नागरिकको सहजताका लागि विभिन्न १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ। बालाजुबाट आजै यसको सुरुवात गरिएको प्रहरीले जनाएको छ। कलंकी, बल्खु, कोटेश्वर, जडीबुटी, गौशाला, चाबहिल चोक, गोंगबु बसपार्क, बिजी मल अगाडि, सितापाइला, जोरपाटी, बालाजु बाइपास, बालाजु चोक तथा सुरुङमार्ग–नागढुंगा क्षेत्रलगायतका स्थानमा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ।

चाडपर्वका समयमा यात्रु तथा नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने, सम्भावित अपराध रोकथाम गर्ने र सुरक्षा सम्बन्धी सूचना तथा सेवा प्रवाह गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ।