

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउसम्बन्धी घटनाबारे बयान दिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्।
राणालाई हिरासतमा राखिएको अवस्थामा अनुगमनका लागि पुगेको आयोगको टोलीलाई टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा प्रवेश गर्न नदिएको विषयमा आयोगले खड्कालाई मंगलबार उपस्थित हुन पत्राचार गरेको थियो। आयोगको टोली करिब ४५ मिनेट गेटमै रोकिएर फर्किएको थियो।
आयोगका सदस्य मनोज दुवाडीसहितको टोली राणाको अवस्था बुझ्न टेकु पुगेको थियो। उक्त टोलीलाई प्रवेश गर्न नदिएको विषयमा आयोगले खड्कासँग स्पष्टीकरण तथा जानकारी लिन लागेको हो।
आयोगले यस घटनामा अनुसन्धानसमेत अघि बढाएको जनाएको छ। साथै, राणाको पक्राउसम्बन्धी घटनामा थप अधिकारीहरूसँग पनि सोधपुछ गर्ने तयारी भइरहेको जनाइएको छ।