बीपी राजमार्गमा आजदेखि आंशिक रूपमा सवारी सञ्चालन

बीपी राजमार्गमा आजदेखि आंशिक रूपमा सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्गमा आजदेखि आंशिक रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्।

बाढीले क्षति पुर्‍याएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि बीपी राजमार्गमा साना सवारीसाधन सञ्चालन हुन थालेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल ‘डाइभर्सन’ निर्माण गर्न नसकिएपछि खानेपानी पम्प हाउस रहेको भित्री ‘ट्र्याक’ खोलेर सवारी आवागमन सुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिए।

खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिने उनले बताए।

रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाउनुका साथै दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

हाल जोखिमयुक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ। ती स्थानमा छिट्टै दुईतर्फी सवारी सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ।

सडक खुलाउने उद्देश्यले सोमबार बिहानदेखि अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डमा खसेका पहिरो पन्छाउने काम थालिएको थियो।