

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विश्वका विभिन्न देशका धार्मिक नेताहरूले धार्मिक तथा राष्ट्रिय सीमाभन्दा माथि उठेर नेपालको शान्ति, पुनरुत्थान र समृद्धिका लागि संयुक्त प्रार्थना गरेका छन्।
हेभेन्ली कल्चर, वर्ल्ड पिस, रेस्टोरेसन अफ लाइट (HWPL) को ग्लोबल ०१ शाखाले इन्टरफेथ पिस फेडेरेसन नेपाल (IPFN) र हामी नेपाली ग्लोबलसँगको सहकार्यमा अक्टोबर ३ मा जुममार्फत ‘नेपालका लागि विश्वव्यापी अनलाइन प्रार्थना’ आयोजना गरेको हो।
कार्यक्रममा दक्षिण कोरिया, नेपाल, फिलिपिन्स, नाइजेरिया, भारत र डोमिनिकन रिपब्लिकलगायत विभिन्न देशबाट करिब ३४० धार्मिक नेता तथा प्रतिनिधि सहभागी भएका थिए। उनीहरूले नेपालमा बाढीपहिरोबाट ज्यान गुमाएका तथा प्रभावित नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शान्ति, पुनरुत्थान र समृद्धिका लागि प्रार्थना गरेका थिए।

यो कार्यक्रम सेप्टेम्बर १९ मा दक्षिण कोरियाको सियोलमा आयोजित ‘नेपालको पुनरुत्थान र आशाका लागि संयुक्त प्रार्थना सभा’ को निरन्तरताका रूपमा आयोजना गरिएको आयोजकले जनाएको छ। सियोलमा विभिन्न नौ धार्मिक सम्प्रदायका धार्मिक नेताहरू सहभागी भएको कार्यक्रमबाट सुरु भएको ऐक्यबद्धताको भावनालाई विश्वव्यापी रूपमा विस्तार गर्दै नेपालका बाढीपीडित नागरिकमा आशा र सहानुभूति पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य थियो।
कार्यक्रमको सुरुवात IPFN की उपाध्यक्ष सीमा खान र हामी नेपाली ग्लोबलको कोरिया च्याप्टरकी अध्यक्ष अम्बिकाको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो।
संयुक्त प्रार्थना सत्रमा हिन्दू, क्याथोलिक, इस्लाम, बौद्ध, इसाई, कन्फ्युसियस र यहुदीलगायत आठ प्रमुख धर्मका १३ धार्मिक नेताले आ–आफ्नो धार्मिक परम्पराअनुसार नेपालको शीघ्र पुनरुत्थान, शान्ति र समृद्धिका लागि प्रार्थना गरेका थिए।

फिलिपिन्सका क्याथोलिक धर्मका आर्चबिसप एमेरिटस एन्टोनियो लेडेस्मा, नाइजेरियाका इस्लाम धर्मका प्राध्यापक दाउद ओलाटोकुनबो शित्तु नोइबी, नेपालका हिन्दू धर्मका डा. श्यामप्रसाद र दक्षिण कोरियाका बौद्ध धर्मका भेनरेबल च्योङम्यङलगायत धार्मिक प्रतिनिधिले नेपालप्रति शान्ति, सहानुभूति र पुनरुत्थानको सन्देश दिएका थिए।
कार्यक्रममा सहभागी धार्मिक नेताहरूले राष्ट्रियता, धर्म र धार्मिक सिद्धान्तका भिन्नताभन्दा माथि उठेर मानवीय संवेदना र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले विपत्तिमा परेका नेपाली नागरिकको दुःखप्रति सहानुभूति व्यक्त गर्दै नेपालमा दीर्घकालीन शान्ति र पुनर्निर्माणको काम सफल होस् भन्ने कामना गरेका थिए।
कार्यक्रममा HWPL का अध्यक्ष ली मान–हीको शान्तिसम्बन्धी दर्शन पनि साझा गरिएको थियो। कठिन परिस्थितिमा पीडितको दुःखलाई पहिलो प्राथमिकतामा राख्दै सहानुभूति र व्यवहारिक सहयोगमार्फत शान्ति स्थापना गर्नुपर्ने उनको धारणा कार्यक्रममा प्रस्तुत गरिएको थियो।
सहभागीहरूले प्रार्थना सभालाई एकपटकको कार्यक्रममै सीमित नराखी नेपालमा निरन्तर राहत तथा सहयोगका गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
HWPL का एक अधिकारीका अनुसार सेप्टेम्बरमा दक्षिण कोरियामा विभिन्न धार्मिक नेताहरूको सहभागितामा भएको प्रार्थना सभापछि विश्वभरका धार्मिक नेताहरूलाई जोडेर आयोजना गरिएको यस कार्यक्रमले नेपालप्रतिको अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई थप विस्तार गरेको छ।
उनका अनुसार प्रार्थना सभाबाट उत्पन्न एकताको भावनालाई व्यवहारमा रूपान्तरण गर्दै नेपालमा आपत्कालीन राहत सामग्री वितरण, आशा जगाउने अभियान तथा अन्य व्यावहारिक राहत गतिविधि सञ्चालन गरिनेछ। यस्ता कार्यक्रम नेपाल रेडक्रस तथा स्थानीय स्वयंसेवी संस्थासँगको सहकार्यमा निरन्तर अघि बढाइने आयोजकले जनाएको छ।