

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सम्मिलित टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टोरन्टोले लगातार दोस्रो पटक उपाधि जित्दै उपाधि रक्षा गरेको हो।
शनिबार बीसी प्यालेसमा सम्पन्न फाइनलमा टोरन्टोले भ्यानकुभर वारियर्सलाई ६ विकेटले पराजित गर्यो। भ्यानकुभरले दिएको ८५ रनको लक्ष्य टोरन्टोले तीन बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो।
टोरन्टोका लागि एला म्याककगनले अविजित ३६ रन तथा इन्दु बर्माले अविजित १८ रन बनाइन्। भ्यानकुभरका ग्रेस स्क्रिभेन्सले २ तथा जेस जोसेफले १ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन बनाएको थियो। उसका लागि सोफी रिडले ३५, कप्तान म्यारिजेन कापले १६, ग्रेस स्क्रिभेन्सले अविजित ११ तथा फेबी मोल्केनबोअरले १० रन बनाइन्।
टोरन्टोका सोफिया सम्ले र अमरपाल कौरले २-२ विकेट तथा इन्दु बर्माले १ विकेट लिइन्। प्रतियोगितामा इन्दुले चार खेल खेल्दै ४ विकेट लिनुका साथै १८ रन बनाइन्।