

काठमाडौं । प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएयता अवरुद्ध रहेको प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री शाहले यसअघि एकपटक संसदमा अनौपचारिक रूपमा सांसदका प्रश्नको जवाफ दिए पनि विधिवत् रूपमा प्रश्नोत्तर कार्यक्रम हुन सकेको थिएन । प्रधानमन्त्री सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका थिए ।
सभामुख अर्यालले आजै प्रधानमन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए । बैठकको अन्त्यमा सभामुख अर्यालले भदौ १० गते प्रश्नोत्तर कार्यक्रम हुने जानकारी दिँदै सांसदहरूलाई भदौ ५ गते दिउँसो १ बजेसम्म आफ्ना प्रश्न दर्ता गराउन सूचित गरे । सभामुखका अनुसार प्रत्येक राजनीतिक दलबाट कम्तीमा एक जना सांसदले प्रश्न सोध्न पाउनेछन् । प्रश्नोत्तर कार्यक्रममा बढीमा १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सक्नेछन् ।