काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट पक्षसँग आफू निरन्तर संवादमा रहेको बताएका छन्।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले सदस्यता व्यवस्थापन र निर्वाचन समितिसहितका विषयमा असन्तुष्ट नेताहरूसँग छलफल गर्न आफू तयार रहेको बताए।
उनले पार्टीका आन्तरिक विषयमा छलफलको प्रक्रिया जारी रहे पनि समयसीमा भएकाले पार्टी विधान, संविधान र विशेष महाधिवेशनका निर्णयअनुसार अघि बढ्नुपर्ने स्पष्ट पारे।
सभापति थापाले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको जानकारी दिँदै असोज १६ गतेदेखि काठमाडौंमा महाधिवेशन हुने बताए।
उनका अनुसार महाधिवेशनको कार्यतालिका सबैले पालना गर्नुपर्नेछ र निर्धारित मितिमा कुनै ठूलो परिवर्तन नहुने गरी प्रक्रिया अघि बढाइनेछ।