

काठमाडौं । सुनसरी र सिरहामा भएका घटनाबारे छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको छ।
गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार दुवै समितिले मंगलबार नै प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही अघि बढाइने उनले बताइन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति हिन्दु र मुस्लिम समुदायबीच तनावपछि भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो। घटनामा घाइते भएका अन्य व्यक्तिको पनि उपचारका क्रममा मृत्यु भएको थियो।
घटनाको विवाद सिरहासम्म पुगेपछि त्यहाँ पनि गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।
सुनसरी घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा र सिरहा घटनाको छानबिन गर्न सहसचिव पुष्पराज शाहीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको थियो। दुवै समितिले घटनाको अध्ययन गरी प्रतिवेदन बुझाएका हुन्।