१९ अंकले घट्यो सेयर बजार

१९ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार १९.३४ अंकले घटेको छ। अघिल्लो दिन २.२५ अंक घटेको नेप्से आज थप दबाबमा परेको हो।

आजको कारोबारपछि नेप्से परिसूचक २६२२ अंकमा कायम भएको छ। ५७ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकम पनि केही घटेको छ। सोमबार ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भयो।

व्यापारबाहेक सबै समूहगत सूचक घटेका छन्। व्यापार समूह ०.४१ प्रतिशत बढ्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.४० प्रतिशत घटेको छ। जलविद्युत् समूह ०.९२ र अन्य समूह ०.९७ प्रतिशतले घटेका छन्।

समूहगत कारोबारमा हाइड्रोपावर समूह अगाडि रह्यो। यस समूहमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशत बढेको छ। सगरमाथा जलविद्युत् कम्पनीको मूल्य भने १०.६३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, युनाइटेड मोदी हाइड्रोपावर र रिडी पावर अगाडि रहे।