

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको भन्दै सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए।
उनले सहकारी पीडितले बचत फिर्ता नपाएको, न्यायालयबाट न्याय पाउन कठिन भएको र अस्पतालमा सहज उपचारको अवस्था नरहेको बताए। सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने उनको भनाइ थियो।
साम्पाङले सीमा सुरक्षा, शान्ति–सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणमा समेत सरकार असफल भएको दाबी गरे।
उनले सुनसरीको रामधुनी–७ मा ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा छानबिन गरी स्थानीयलाई न्याय दिन माग गरे।
त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारीका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा रहेको भन्दै बचत फिर्ताका लागि सरकारले पहल गर्नुपर्ने बताए। उनले सुनसरी–१ लगायत देशभरका विकास आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउनसमेत माग गरे।