ऊर्जा प्रणाली सुधार सरकारको प्राथमिकता : मन्त्री श्रेष्ठ

ऊर्जा प्रणाली सुधार सरकारको प्राथमिकता : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र विद्युत् वितरण प्रणालीको सुदृढीकरण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत् निर्यातसँगै स्वदेशी आपूर्तिलाई गुणस्तरीय बनाउन मन्त्रालय गम्भीर रहेको बताए।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। तर नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना धेरै भएकाले वर्षायाममा विद्युत् निर्यात गर्नुपर्ने र सुक्खायाममा १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए।

मन्त्री श्रेष्ठले उत्पादनभन्दा पनि प्रसारण तथा वितरण पूर्वाधारको न्यून क्षमता र जीर्ण अवस्थालाई अहिलेको मुख्य चुनौतीका रूपमा औँल्याए।

वितरण प्रणाली सुधारका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए। प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणलाई साउन २० गते नै पठाइएको उनको भनाइ छ।

बढ्दो विद्युत् माग र पुराना संरचनाका कारण केही स्थानमा समस्या देखिएको स्वीकार गर्दै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकासहित प्रमुख सहरमा स्मार्ट मिटरिङ, सब–स्टेसन अटोमेसन र औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर निर्माणलाई तीव्रता दिइएको बताए।