किरण थापालाई बागमतीको मुख्यमन्त्री बनाउने सहमति

किरण थापालाई बागमतीको मुख्यमन्त्री बनाउने सहमति

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने र मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति भएको छ।

मंगलबार हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई दल नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसअघि साउन २७ गते एमालेका १६ प्रदेशसभा सदस्यले थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई दल नेता बनाउन माग गरेका थिए। पार्टी नेतृत्वको पहलपछि थपलियालाई दल नेतामै कायम राखेर थापालाई मुख्यमन्त्री बनाउने सहमति जुटेको हो।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्। बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्ने समय तोकिएको छ।

एमाले–नेकपा गठबन्धनसँग ५१ सांसद रहेकाले थापालाई मुख्यमन्त्री बन्न थप दुई सांसदको समर्थन आवश्यक पर्नेछ। बहुमत जुटाउन एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग छलफल गर्ने जनाएको छ।