भदौ १ मा विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री

भदौ १ मा विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँट टुंगो लगाउने तयारी गरिएको छ। कांग्रेसले समर्थन फिर्ता लिएसँगै सरकारको संरचना परिवर्तन हुने भए पनि नयाँ सत्ता समीकरणअनुसार सरकारलाई पूर्णता दिने विषय अझै टुंगिएको छैन।

८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सदस्य छन्। मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएपछि नयाँ सत्ता समीकरणअनुसार सरकार विस्तार गर्ने तयारी गरेका छन्।