दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म हुने

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म हुने

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको १२५औँ बोर्ड बैठकले पाँचौँपटक प्रतियोगिताको मिति तय गरेको हो। दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने यसअघि नै तय भइसकेको छ।

यसअघि पटक–पटक मिति तोकिए पनि प्रतियोगिता आयोजना हुन सकेको थिएन। नवौं राष्ट्रिय खेलकुदको समापनका क्रममा २०८१ मंसिरमा कर्णालीमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरिएको थियो। तर, पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा प्रतियोगिता हुन सकेन।

त्यसपछि २०८१ चैतमा आयोजना गर्ने निर्णय गरिए पनि आर्थिक अभावका कारण सम्भव भएन। पुनः जेठमा गर्ने निर्णय भए पनि प्रतियोगिता हुन सकेन।

त्यसपछि जेनजी मन्त्री बनेका बब्लु गुप्ताले २०८२ फागुनमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका थिए। तर, उनले समय अगावै मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा लागेपछि चौथोपटक तय गरिएको मितिमा पनि प्रतियोगिता हुन सकेन।

अब राखेपले मंसिर १६ देखि २९ गतेसम्म दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने नयाँ मिति तय गरेको हो।