आईसीसीले तोक्यो २०२७ विश्वकप छनोटको मिति, नेपालले अब प्लेअफ खेल्नुपर्ने

आईसीसीले तोक्यो २०२७ विश्वकप छनोटको मिति, नेपालले अब प्लेअफ खेल्नुपर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२७ एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आगामी फेब्रुअरी २२ देखि मार्च २३, २०२७ सम्म आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगिताको आयोजना स्थल भने अझै घोषणा गरिएको छैन।

नयाँ ढाँचाअनुसार १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेता टोली सिधै १४ टोलीसम्म विस्तार गरिएको विश्वकपमा पुग्नेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले विश्वकपको पहिलो चरण (सुपर सिरिज) खेल्ने अवसर पाउनेछन्, जहाँबाट उत्कृष्ट टोलीले मुख्य चरणमा स्थान बनाउनेछ। २०२७ को एकदिवसीय विश्वकप भने दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर ४ देखि नोभेम्बर ११ सम्म आयोजना हुनेछ।

छनोटमा कसरी पुग्ने?

१० टोलीको छनोट प्रतियोगितामा:

-ओडीआई वरीयतामा रहेका दुई तल्लो पूर्ण सदस्य राष्ट्र (आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेबाहेक)

-क्रिकेट विश्वकप लिग-२ का शीर्ष चार टोली

-विश्वकप छनोट प्लेअफका शीर्ष चार टोली सहभागी हुनेछन्।

प्लेअफमा भने लिग-२ का पुछारका चार टोली र च्यालेन्ज लिगबाट छनोट भएका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ।

नेपालको अवस्था

नेपाल हाल क्रिकेट विश्वकप लिग-२ मा ३२ खेलबाट ११ जितसहित २४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ। शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भइसकेकाले नेपालले अब विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने निश्चित भएको छ। नेदरल्यान्ड्स भ्रमणमा लगातार हारपछि नेपाल लिग-२ को तल्लो चारमा रहने पक्का भएको हो। अब नेपालका लागि पहिलो लक्ष्य प्लेअफबाट शीर्ष चारमा पर्दै मुख्य छनोट प्रतियोगितामा स्थान बनाउनु हुनेछ। त्यसपछि मात्र विश्वकप यात्रालाई अघि बढाउने अवसर प्राप्त हुनेछ।