

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। जनकपुर बोल्ट्सले शनिबार सामाजिक सञ्जालमार्फत हरमितलाई अनुबन्ध गरेको घोषणा गर्दै उनलाई टोलीको कप्तानीसमेत सुम्पिएको जनाएको छ।
देब्रेहाते स्पिन अलराउन्डर हरमितले एनपीएलका पहिलो दुई संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। पहिलो संस्करणको च्याम्पियन जनकपुरले हरमितलाई टोलीमा भित्र्याउन पाउँदा उत्साहित रहेको जनाएको छ।
पहिलो संस्करणमा अनिल साहको कप्तानीमा जनकपुरले एनपीएलको उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने अनिल साहसँगै दक्षिण अफ्रिकाका वेन पार्नेल र नामिबियाका जान निकोल लोफ्टी–इटनले जनकपुरको कप्तानी गरेका थिए।
हरमितले एनपीएलको पहिलो संस्करणमा पाँच खेल खेल्दै २८ रन बनाएका थिए भने ८ विकेट लिएका थिए। दोस्रो संस्करणमा उनले ९ खेलमा १६६ भन्दा बढीको स्ट्राइक रेटमा १३३ रन बनाउनुका साथै ६.१८ को इकोनोमीमा १२ विकेट लिएका थिए।
अमेरिकाका लागि हरमितले २९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३९ विकेट तथा २९ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३१ विकेट लिएका छन्।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरोज खतिवडाले हरमितलाई कप्तानीको जिम्मेवारी दिनुको कारण उनको अलराउन्ड प्रदर्शनसँगै नेतृत्व क्षमता, अनुशासन र टोलीप्रतिको प्रतिबद्धता रहेको बताएका छन्।
‘हरेक सफल टोलीको आधार केवल उत्कृष्ट खेलाडी मात्र होइन, सशक्त नेतृत्व पनि हो। नयाँ सिजनसँगै जनकपुर बोल्ट्स नयाँ ऊर्जा, नयाँ सोच र नयाँ संकल्पका साथ अगाडि बढ्ने तयारीमा छ। यही यात्राको नेतृत्व गर्ने जिम्मेवारी हामीले हरमित सिंहलाई सुम्पिएका छौँ,’ खतिवडाले भनेका छन्।
उनले हरमितले मैदानभित्र र बाहिर देखाएको अनुशासन, परिपक्वता र टोलीप्रतिको प्रतिबद्धताले उनलाई कप्तानीका लागि स्वाभाविक छनोट बनाएको बताए। हरमित जनकपुर बोल्ट्सले आत्मसात गरेको संघर्ष, एकता र कहिल्यै हार नमान्ने भावनाको प्रतिनिधि रहेको पनि उनले उल्लेख गरे।