कप्तानीबाट हटाइएका रोहितलाई क्यानको धन्यवाद, भन्यो- ‘एक पटकको नेता, सधैँको नेता’

कप्तानीबाट हटाइएका रोहितलाई क्यानको धन्यवाद, भन्यो- ‘एक पटकको नेता, सधैँको नेता’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तानीबाट बिदा गरिएका रोहित पौडेललाई उनको योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।क्यानले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत रोहितको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि स्मरणीय रहने उल्लेख गर्दै उनको योगदानको प्रशंसा गरेको हो।

क्यानले नेपाली क्रिकेटको विकास, टोलीको प्रदर्शन सुधार तथा समर्थकका अपेक्षा पूरा गर्न रोहितले महत्वपूर्ण योगदान दिएको जनाएको छ। ‘धन्यवाद छ रोहित! राष्ट्रको आशालाई अगाडि बढाउने र जोश, समर्पण तथा दृढ संकल्पका साथ नेपाली क्रिकेटको नेतृत्व गरेकामा,’ क्यानले उल्लेख गरेको छ।

क्यानले रोहितको नेतृत्वमा राष्ट्रिय टोलीले उत्कृष्ट उपलब्धि हासिल गरेको र ती क्षणहरू नेपाली क्रिकेट यात्राको गौरवशाली हिस्साका रूपमा सधैँ स्मरणीय रहने जनाएको छ। ‘हाम्रो पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा तपाईंको नेतृत्वमा हामीले उत्कृष्ट उपलब्धि हासिल गर्‍यौँ र त्यस्ता पल आए, जुन नेपाल क्रिकेट यात्राको गौरवशाली हिस्साका रूपमा रहनेछन्,’ क्यानले भनेको छ।

टोली, देश र खेलकुदप्रति रोहितको प्रतिबद्धता सधैँ प्रेरणादायी रहने उल्लेख गर्दै क्यानले उनको आगामी यात्राका लागि शुभकामना दिएको छ। ‘हामीलाई विश्वास छ– तपाईंले आफ्नो यात्राभरि देखाउनुभएको जोश, गर्व र समर्पणका साथ नेपालको सेवा गरिरहनुहुनेछ। एक पटकको नेता, सधैँको नेता,’ क्यानले लेखेको छ।

रोहितको ठाउँमा सन्दीप कप्तान

यसअघि सोमबार क्यानले रोहित पौडेलको स्थानमा लेगस्पिनर सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको थियो। अब सन्दीपको नेतृत्वमा नेपालले अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ।

नेदरल्यान्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग-२ मा नेपाली टोलीको कमजोर प्रदर्शनपछि क्यानले कप्तानी परिवर्तन गरेको हो। प्रतियोगिताका लागि क्यानले सोमबार नै सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा गरेको थियो।

सन्दीप करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन्। यसअघि उनीमाथि नाबालिगमाथि बलात्कारको आरोप लागेपछि २०७९ सालमा कप्तानीबाट हटाइएको थियो। त्यसपछि राष्ट्रिय टोलीबाट समेत निलम्बनमा परेका उनी अदालतबाट सफाइ पाएपछि टोलीमा फर्किएका थिए।

एसीसी प्रिमियर कपका लागि नेपाली टोली

मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि घोषित नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्। एसीसी प्रिमियर कप भदौ १४ देखि २७ गतेसम्म मलेसियामा सञ्चालन हुनेछ।