

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा फेरि पनि नेपाली कांग्रेस नेतृत्वकै सरकार बन्ने अवस्था रहेको दाबी गरेका छन्। बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बानियाँले एमाले सरकारबाट बाहिरिएर आफू नेतृत्वको सरकार अल्पमतमा परे पनि नयाँ सरकार गठनका लागि आवश्यक बहुमतको समीकरण नबनेको ‘ब्रिफिङ’ गरेका हुन्।
उनका अनुसार हाल कांग्रेस र हाम्रो नेपाली पार्टी सम्मिलित अल्पमतको सरकार सञ्चालनमा छ। अर्कोतर्फ नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउने अवस्था नरहेको तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी पनि सरकारमा सहभागी नहुने बताइरहेका छन्।
बागमती प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सबैभन्दा ठूलो दल कांग्रेसकै नेतृत्वमा पुनः सरकार बन्ने सम्भावना रहेको बानियाँले बताए। उनले प्रदेश सरकार गठनभन्दा पार्टीको आन्तरिक एकता महत्वपूर्ण रहेको भन्दै सभापति गगनकुमार थापालाई पार्टी मिलाउने विशेष जिम्मेवारी रहेको बताए।
बानियाँले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले पार्टी र लोकतन्त्रका लागि निर्वाह गरेको भूमिकाको उदाहरण दिँदै अहिले पार्टी एकता कायम गर्ने जिम्मेवारी थापाको काँधमा आएको बताए।
पार्टीभित्रको इतर पक्षलाई पनि सानेपामा आएर छलफल र संघर्ष गर्न वातावरण बनाउनुपर्ने उनको सुझाव थियो। संस्थापन र इतर दुवै पक्षका अतिवादी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले कांग्रेस एकताबद्ध हुनुको विकल्प नभएको बताए। यसैगरी, प्रतिनिधिसभामा कांग्रेस सांसदहरूलाई एउटै भाषण लेखेर पठाउने अभ्यासप्रति समेत बानियाँले बैठकमा प्रश्न उठाएका थिए।