

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा हुने भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले सरकारले नयाँ आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको हो। साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने तयारी भए पनि भोटेकोसी बाढीका कारण कार्यक्रम स्थगित गरिएको थियो।
आन्तरिक राजस्व विभागले असोज १ गते भदौ महिनाभरका पुरस्कार घोषणा गर्ने तयारी गरेको जनाएको छ। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले असोज १ गते पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिए।
पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्ये दैनिक एक जनाका दरले १५ जनालाई जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। सोही अवधिका उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।
दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्म कारोबार गर्ने उपभोक्तामध्ये १६ जनालाई जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिने विभागले जनाएको छ।
यसरी असोज १ गते भदौ महिनाका लागि एक लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १० लाख रुपैयाँका दुई जना बम्पर विजेतासहित कुल ३३ जनालाई पुरस्कार प्रदान गरिनेछ।
पुरस्कारमा सहभागी हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। विभागले कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्न आग्रह गरेको छ।
अनलाइनमार्फत गरिएको कारोबार स्वतः करदाता प्रोत्साहन प्रणालीमा समावेश हुनेछ। नगद कारोबार गरी सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा बिल अपलोड गरी उपहार कुपन लिनुपर्नेछ।
भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले भदौ १५ गतेसम्म र भदौ १६ देखि ३१ गतेसम्म बिल लिएका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्म आफ्नो बिल प्रणालीमा दर्ता गरी उपहार कुपन लिइसक्नुपर्नेछ।
करदाता प्रोत्साहन पुरस्कारमा २५ प्रतिशत कर लाग्ने व्यवस्था छ। त्यसअनुसार एक लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जित्नेले कर कटाएर एक लाख रुपैयाँ तथा १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेले कर कटाएर सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। साउन महिनामा ३३ जनाले करदाता प्रोत्साहन पुरस्कार जितेका थिए। उनीहरूको विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए।