दर खाएसँगै सुरु हुँदै चारदिने तीज पर्व

दर खाएसँगै सुरु हुँदै चारदिने तीज पर्व

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन् । भाद्र शुक्ल द्वितीयाका दिन दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुन्छ ।

तीजको पहिलो दिन माइतीले चेलीबेटी, दिदीबहिनी तथा छोरीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायतका आडिला खानेकुरा खाने गरिन्छ । यस्ता परिकारले भोलिपल्ट गरिने निराहार व्रतका लागि शरीरलाई शक्ति दिने विश्वास छ ।

धर्मशास्त्रविद्हरूका अनुसार भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्ने भएकाले त्यसको अघिल्लो दिन बेलुकी दर खाने शास्त्रीय परम्परा रहेको छ । दर दुई प्रहर रात बित्नुअघि खाइसक्नुपर्ने धार्मिक मान्यता पनि छ ।

तीज धार्मिक पर्वसँगै महिलाले आफ्ना सुख–दुःख, पीडा र भोगाइ अभिव्यक्त गर्ने अवसरका रूपमा पनि मनाउँदै आएका छन् । तीजका गीतमार्फत महिलाले जन्मघर छाडेर कर्मघरमा पुग्दा भोगेका पीडा, मर्का र सामाजिक अवस्थालाई सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ ।

बढ्दो तडकभडकप्रति चिन्ता

पछिल्ला वर्षमा तीजका नाममा बढ्दै गएको तडकभडक र उच्छृङ्खलताप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । विशेषगरी तीज आउनुभन्दा महिनौँअघिदेखि दर खाने, गरगहना तथा महँगा पोसाक प्रदर्शन गर्ने प्रवृत्तिले पर्वको मौलिक संस्कृति कमजोर बनाउँदै लगेको उनीहरूको भनाइ छ ।

वास्तवमा भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने धार्मिक परम्परा भए पनि पछिल्लो समय महिनौँअघिदेखि नै दर खाने चलन बढेको छ । सरकारी कार्यालय तथा विभिन्न संस्थामा समेत तीजका नाममा लामो समयअघिदेखि हुने तामझामले सामाजिक विकृतिलाई बढावा दिएको भन्दै आलोचना हुने गरेको छ ।

संस्कृतिविद्हरूले तीजको मौलिकता जोगाउँदै सबै वर्ग र समुदायले सहज रूपमा मनाउन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । अनावश्यक खर्च र प्रदर्शनले आर्थिक रूपमा कमजोर परिवारमा हीनभावना सिर्जना गर्न सक्ने भएकाले यस्ता प्रवृत्ति निरुत्साहित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

दरसँगै सुरु हुन्छ चारदिने पर्व

दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत बसिन्छ भने चतुर्थीमा गणेश भगवान्को पूजा गरिन्छ । पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुन्छ ।

धार्मिक परम्पराअनुसार तीजमा महिलाहरूले शिव–पार्वतीको पूजा गरी पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने विश्वास राख्छन् । यस अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ ।

यस्तो छ हरितालिका तीजको पौराणिक कथा

पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन् । पार्वतीको इच्छाविपरीत उनका पिता हिमालयले विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग दुःख व्यक्त गरेको विभिन्न पुराणमा उल्लेख छ ।

पार्वतीको समस्या बुझेपछि उनका साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएर राखेका थिए । त्यही स्थानमा पार्वतीले निराहार व्रत र कठोर तपस्या गरी भगवान् शिवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ ।

साथीहरूले पार्वतीलाई हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यसैको स्मरणमा हरितालिका (तीज) व्रतको परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।

तीजका अवसरमा महिलाहरू पुराना साथी, आफन्त र इष्टमित्रसँग भेटघाट गरी वर्षभरिका सुख–दुःख साटासाट गर्छन् । तीजका गीत, नाचगान र भेटघाटले नेपाली समाजमा पर्वको उल्लास थप्ने गरेको छ ।

तीज सुरु भएसँगै रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमा तीजका गीत गुञ्जिन थालेका छन् । तीजपछि नेपालीको प्रमुख पर्व बडादसैँ र तिहार क्रमशः घरआँगनमा भित्रिने भएकाले तीजलाई नेपाली चाडपर्वको लामो शृङ्खलाको सुरुआती पर्वका रूपमा पनि लिइन्छ ।