

काठमाडौँ । नेपालमा हरितालिका तीजको अघिल्लो दिन अर्थात् भाद्र शुक्ल द्वितीयालाई ‘दर खाने दिन’का रूपमा मनाउने परम्परा छ। विशेषगरी हिन्दू धर्मावलम्बी महिलाका लागि धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले यो दिन महत्त्वपूर्ण मानिन्छ।
‘दर खाने दिन’को परम्परा हरितालिका तीजसँग जोडिएको पौराणिक कथा र धार्मिक मान्यतामा आधारित रहेको पाइन्छ। पौराणिक कथाअनुसार हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। उनका पिता हिमालयले पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने तयारी गरेपछि पार्वतीका सखीहरूले उनलाई लुकाएर एकान्त वनमा लगेका थिए।
त्यहाँ पार्वतीले भगवान् शिवको बालुवाको शिवलिङ्ग बनाएर निराहार तथा निर्जला व्रत सुरु गरेकी थिइन्। भोलिपल्ट बस्ने कठोर व्रतका लागि शरीरमा ऊर्जा कायम राख्न उनका सखीहरूले अघिल्लो रात कन्दमूल, फलफूल तथा शक्तिवर्द्धक भोजन गराएको धार्मिक मान्यता छ। यही प्रसङ्गसँग जोडेर तीजको अघिल्लो दिन मीठा तथा अडिला परिकार खाने परम्परा सुरु भएको विश्वास गरिन्छ।
‘हरितालिका’ शब्द संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट बनेको मानिन्छ। ‘हरित’को अर्थ हरण गरिएकी र ‘आलिका’को अर्थ सखी वा साथी भन्ने हुन्छ। सखीहरूले पार्वतीलाई हरण गरेर वनमा लगेपछि उनले व्रत बसेको प्रसङ्गसँग जोडेर यस पर्वलाई ‘हरितालिका’ भनिएको धार्मिक मान्यता छ।
परापूर्वकालमा तीजको दिन निराहार तथा निर्जला व्रत बस्ने परम्परा रहेकाले व्रतका लागि आवश्यक ऊर्जा प्राप्त होस् भनेर अघिल्लो राति अबेरसम्म घिउ, दही, खिर, गुँदपाकलगायत अडिला तथा पोषिला परिकार खाने चलन रहेको मानिन्छ।
यातायात र सञ्चारको सुविधा सीमित रहेका बेला वर्षभरि माइतीबाट टाढा रहेका छोरीबेटीलाई दर खाने बहानामा माइतीमा बोलाउने परम्परासमेत विकसित भएको पाइन्छ। यस दिन दिदीबहिनी, छोरीबेटी, आफन्त तथा साथीभाइ एकै ठाउँमा भेला भएर सुख–दुःख साटासाट गर्ने, गीत गाउने र नाचगान गर्दै रमाइलो गर्ने चलन छ।
दर खाने दिन खिर, गुँदपाक, हलुवा, विभिन्न प्रकारका मिठाई, फलफूल, घिउ, दहीलगायत परिकार तयार गरी खाने गरिन्छ। परिवार तथा आफन्तबीच आत्मीयता, प्रेम र सद्भाव बढाउने अवसरका रूपमा समेत यस दिनलाई लिइन्छ।
यसरी हेर्दा ‘दर खाने दिन’ धार्मिक रूपमा पार्वतीको कठोर तपस्याको पूर्वतयारीसँग जोडिएको छ भने सामाजिक रूपमा दिदीबहिनी तथा माइतीबीचको प्रेम, आत्मीयता र सद्भावको प्रतीकका रूपमा स्थापित भएको देखिन्छ।
व्यस्त आधुनिक जीवनशैलीका बीच दिदीबहिनी तथा छोरीबेटी एकत्रित भई खुसी साटासाट गर्ने र मौलिक संस्कृति तथा परम्पराको संरक्षण गर्ने अवसरका रूपमा पनि दर खाने दिनले विशेष महत्त्व राख्दै आएको छ।