

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म एक हजार ३८४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले शनिबार सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२९ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ। पहिचान हुन बाँकी शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ८४६ गरी कुल तीन हजार १३२ वटा डीएनए नमुना सङ्कलन गरिएको छ। पहिचान हुन नसकेका एक हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताए। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म चार हजार ८९ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यस्तै, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल दुई हजार ७१२ जनालाई राखिएको प्रहरीले जनाएको छ।