

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले सिराहामा भएको घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन्।
शनिबार सिराहाको औहरी गाउँपालिकामा आयोजित कार्यक्रममा होहल्ला भएपछि मन्त्री पोखरेल बोल्दाबोल्दै मञ्च छाडेर हिँडेका थिए। उक्त घटनालाई लिएर आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको अभियानलाई रोक्न नसक्ने बताएका हुन्।
मन्त्री पोखरेलका अनुसार शनिबार सिराहा र सप्तरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा १०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा दुई जना व्यक्तिले हल्लाखल्ला गरेपछि सहभागीको सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनको दाबी छ।
‘एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याएर अनावश्यक भ्रम फैलाउने प्रयास गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने उनले बताएका छन्।
मन्त्री पोखरेलले घटनापछि पनि शिक्षा सुधारको अभियान नरोकिने स्पष्ट पारेका छन्। उनले सिराहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीसँग संवाद गरेको र सोमबार मात्रै करिब आठदेखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको जानकारी दिएका छन्।
मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बढ्दो प्रभाव तथा शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति कसैलाई असन्तुष्टि हुनसक्ने भए पनि त्यसका आधारमा भ्रम फैलाउनुभन्दा सरकारले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने उनको तर्क छ।
‘हामी राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,’ उनले भनेका छन्, ‘हल्लाभन्दा काम ठूलो भएकाले आफ्नो काम र नियतको मूल्याङ्कन जनताले गर्ने विश्वास छ।’
मन्त्री पोखरेलका अनुसार नेपालको विद्यालय शिक्षालाई थप व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव सङ्कलन गरिरहेको छ।
आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने लक्ष्यसहित ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका अवधारणाबारे पनि सरोकारवालासँग सुझाव लिने क्रम जारी रहेको उनले बताए। मधेस प्रदेशको कार्यक्रमपछि टोली सप्तरी हुँदै मोरङतर्फ जाने कार्यक्रम छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ २४ गतेदेखि सातै प्रदेशका २८ जिल्लामा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ।
शिक्षा मन्त्रालयका अनुसार पहिलो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा भने ७७ वटै जिल्लाका सरोकारवालासँग सुझाव लिइनेछ।