

काठमाडौं। फिफा विश्वकप-२०२६ को उपाधिसँगै स्पेनले व्यक्तिगत विधाका प्रमुख अवार्डहरूमा पनि वर्चस्व कायम गरेको छ। अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै दोस्रो पटक विश्व च्याम्पियन बनेको स्पेनका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन्। फाइनलपछि उनलाई गोल्डेन बल अवार्ड प्रदान गरिएको हो।
रोड्रीको कप्तानीमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै १६ वर्षपछि विश्वकप उपाधि उचाल्न सफल भएको हो। यस्तै, स्पेनका युवा डिफेन्डर पाउ कुबार्सी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित हुँदै यङ प्लेयर अवार्ड जित्न सफल भए।
स्पेनकै गोलरक्षक उनाई सिमोन उत्कृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लोभ अवार्डका विजेता बने। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका उनले फाइनलमा पनि महत्वपूर्ण बचाउ गर्दै स्पेनलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले।
यसअघि फ्रान्सका कप्तान किलियन एमबाप्पे प्रतियोगितामा सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट अवार्ड जितिसकेका छन्। विश्वकप–२०२६ मा टोलीगत सफलता मात्र होइन, व्यक्तिगत उत्कृष्टतामा पनि स्पेनले आफ्नो प्रभावशाली प्रदर्शन स्थापित गरेको छ।