साउन १२ र १३ गते निर्वाचन आयोगका पदाधिकारीको संसदीय सुनुवाइ

साउन १२ र १३ गते निर्वाचन आयोगका पदाधिकारीको संसदीय सुनुवाइ

काठमाडौं। संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदमा सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारहरूको सुनुवाइ साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका उम्मेदवारको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको हो।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित पदाधिकारीहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको छ। उनले प्राप्त उजुरी र सुझाव समिति सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराइने तथा त्यसको समीक्षा गरी तोकिएको मितिमा सुनुवाइ प्रक्रिया अघि बढाइने जानकारी दिए।

यसअघि संवैधानिक परिषद्को असार १९ गतेको बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त, तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाइ सम्पन्न भएपछि समितिको अनुमोदनका आधारमा उनीहरूको नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ।