

काठमाडौं। नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा साउन ६ र ७ गते विविध कार्यक्रम आयोजना गर्ने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले साउन ६ गते बिहान काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्न लागिएको जानकारी दिए।
‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित आयोजना हुने ५ किलोमिटर दौड सम्पन्न भएपछि जावलाखेल चोकस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ विषयमा विज्ञहरूको सहभागितामा समूहगत छलफल गरिने उनले बताए। उनका अनुसार छलफलसँगै जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई चित्रण गर्ने लाइभ पेन्टिङ कार्यक्रम पनि आयोजना गरिनेछ, जहाँ चर्चित चित्रकारहरूले चित्र सिर्जना गर्नेछन्।
कांग्रेसले ‘ग्रिन रन’मा सहभागी हुने व्यक्तिको संख्याका आधारमा प्रति सहभागी निश्चित रकम पार्टीको कोषबाट जम्मा गरेर ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ। उक्त कोषबाट संकलित रकम हालै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकाको हितमा खर्च गरिने उपसभापति शर्माले जानकारी दिए।
स्मृति दिवसको दोस्रो दिन साउन ७ गते कांग्रेसले ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी राष्ट्रिय सभागृहमा आयोजना गर्नेछ। उक्त कार्यक्रममा पार्टीको नवीन अभियान सार्वजनिक गरिने पनि कांग्रेसले जनाएको छ।
पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उपसभापति शर्माले पार्टीको १५औँ महाधिवेशन सबै पक्षलाई समेटेर सम्पन्न गर्ने प्रयास भइरहेको बताए। प्रदेश सरकारमा सत्ता सहकार्यको विषयमा विभिन्न तहमा छलफल जारी रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि संसद प्रतिपक्षविहीन हुनु उपयुक्त नहुने धारणा व्यक्त गरे।