प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै जनता र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ: अर्थमन्त्री वाग्ले

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै जनता र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म सबै राजनीतिक नेतृत्व नेपाली जनता, आफ्नो राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका विषयमा सबै मन्त्रालयका सचिवहरूसँग सोमबार भएको छलफलमा अर्थमन्त्री वाग्लेले सुशासन र जवाफदेहितालाई सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे।

उनले सरकारले भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति अवलम्बन गरेको उल्लेख गर्दै राज्य सञ्चालनमा इमानदारी, पारदर्शिता र उत्तरदायित्वमा कुनै सम्झौता नहुने बताए।

“मुलुकमा सुशासनको स्पष्ट सोच अघि सारिएको छ। भ्रष्टाचारप्रति हाम्रो शून्य सहनशीलताको नीति छ। प्रधानमन्त्रीदेखि हामी सबै मन्त्री नेपाली जनता, आफ्नो पार्टी र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी छौं,” अर्थमन्त्री वाग्लेले भने।

उनले विगतका विकृति र विसंगतिलाई क्रमशः अन्त्य गर्दै सुशासनलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, कर्मचारीतन्त्रलाई परिणाममुखी र उत्तरदायी बनाउन कार्यसम्पादनका आधारमा प्रोत्साहन (इन्सेन्टिभ) दिने सरकारको योजना रहेको जानकारी दिए।

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन प्रभावकारी बनाउन सबै मन्त्रालयका सचिवहरूलाई समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिँदै राजनीतिक नेतृत्व र कर्मचारी प्रशासन दुवैले आफ्नो जिम्मेवारी, नैतिकता र जवाफदेहितालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।

सरकारले सुशासन, पारदर्शिता र प्रभावकारी बजेट कार्यान्वयनमार्फत सेवा प्रवाह सुधार्ने लक्ष्य लिएको उनले बताए।