विश्वकप लिग-२ मा आज नेपाल र नामिबियाको भिडन्त

विश्वकप लिग-२ मा आज नेपाल र नामिबियाको भिडन्त

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्ड्सको युट्रेक्टस्थित काम्पोङ क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:३० बजे सुरु हुनेछ। यो शृंखला जुलाई २१ देखि ३१ सम्म नेदरल्यान्ड्स, नेपाल र नामिबियाबीच सञ्चालन हुँदैछ।

नेपालका लागि लिग-२ को यो शृंखला निकै निर्णायक मानिएको छ। हाल नेपाल २८ खेलबाट २८ अंकसहित पाँचौं स्थानमा छ। शीर्ष चारभित्र पर्न सके नेपालले २०२७ एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ भने शीर्ष ६ मा रहँदा आफ्नो ओडीआई मान्यता सुरक्षित गर्नेछ। उता नामिबिया २८ खेलमा २२ अंकसहित सातौं तथा आयोजक नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ।

नेपालको टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने र अर्जुन कुमाल रहेका छन्। नेपालले यस शृंखलामा नामिबियासँग दुई तथा नेदरल्यान्ड्ससँग दुई खेल खेल्ने तालिका रहेको छ।